स्थायी राजधानीका लागि कांग्रेसले जनप्रदर्शन गर्ने

0
Shares

बुटवल ९नेस०
प्रदेश ५ को स्थायी राजधानी तोक्न माग गर्दै नेपाली कांग्रेस रूपन्देहीले बुटवलमा बृहत जनप्रर्दशन तथा खबरदारी सभा गर्ने भएको छ। यसका लागि कांग्रेसले आउँदो माघ ३ गते बुटवलमा बृहत जनप्रर्दशन तथा खबरदारी सभा गर्ने भएको छ।

सरकारले अस्थायी राजधानी तोकेको एक वर्ष पुग्न लागे पनि यो विषयमा प्रदेश सरकारले स्थायी राजधानी तोक्न नसकेको भन्दै कांग्रेसले दाबाबमूलक कार्यक्रमको तयारी गरेको जनाएको छ।

नेकपाको सरकारले राजधानी बुटवलबाट सार्ने षड्यन्त्र गरिरहेको भन्दै कांग्रेसले त्यसका विरुद्ध खबरदारी गर्न यस क्षेत्रका सर्वसाधारणमा पनि अपिल गरेको छ।

बुधबार बुटवलमा बसेको नेपाली कांग्रेस रूपन्देहीको विस्तारित बैठकले माघ ३ गते केन्द्रीय नेताहरूको सहभागितामा गर्ने खबरदारी सभाको तयारी तीव्र बनाउने निर्णय पनि गरेका छ। पार्टी सभापति अब्दुल रज्जाकको सभापतित्वमा बसेको बैठकले तयारीका लागि विभिन्न आधादर्जन उपसमिति पनि गठन गरेको छ।

बैठकले आर्थिक व्यवस्थापन, मञ्च, प्रचारप्रसार, यातायात, समन्वयलगायतका उपसमिति गठन गरेको छ।
माघ ३ गते बुटवलमा हुने बृहत सभामा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, पार्टीका प्रवक्ता तथा युवानेता विश्वप्रकाश शर्मा, कांग्रेसका केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, मानबहादुर विकलगायत विभिन्न जिल्लाका जिल्ला नेताहरूले सम्बोधन गर्ने बताइएको छ।

बुटवलको ट्राफिक चोकमा हुने खबरदारी सभापूर्व बृहत जनप्रर्दशनसमेत गर्ने र त्यसका लागि कांग्रेसका विभिन्न भातृ संगठनहरूको व्यापक परिचालन गर्ने कांग्रेस रूपन्देहीका जिल्ला सचिव रामकृष्ण खाँणले जानकारी दिनुभयो। ‘माघ ३ गते बुटवल जाऔं, प्रदेश राजधानी सार्ने षड्यन्त्रको भण्डाफोर गरौं’ भन्ने नाराका साथ प्रचारप्रसारललाई तीव्र बनाउने बैठकले निर्णय गरेको छ।

प्रदेश सरकार गठन भएको एक वर्ष पुग्न थालेको अवस्थामा सरकारले जनताको पक्षमा कुनै पनि रचनात्मक कार्य गर्न नसकेको पनि कांग्रेसले ठहर गरेको छ। साथै गाडी खरिदलगायतका कैयांैं आर्थिक अनियमितताका विषयको पनि भण्डाफोर गर्ने कांग्रेसले जनाएको छ।