नानीराम नेपाल, सिन्धुपाल्चोक
विद्यमान मानव बेचबिखनको परिदृश्यले मानवअधिकारको प्रत्याभूतिमाथि प्रश्न उठिरहेको बेला जोखिम न्यूनीकरणमा दृढतापूर्वक लाग्न जनप्रतिनीधि र स्थानीय सरोकारवालाहरूले प्रण गरेका छन्। ‘मानव बेचबिखनविरुद्धको आवाज बुलन्द पारौं– मानवअधिकारको प्रत्याभूतिका लागि सशक्त पाइला चालौं’ भन्ने मूल नाराका साथ समाज सेवा तथा मानवअधिकारमा महिला र बालबालिका ९सीवीस० द्वारा बुधबार बलेफीमा आयोजित कार्यक्रममा सहभागीहरूले यस्तो प्रण गरेका हुन्।
कार्यक्रममा बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले स्थानीय तहबाट नै मानव बेचबिखनविरुद्धको अभियान शुरूआत गर्नुपर्नेमा जोड दिए। स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा हुने मानव बेचबिखन रोकथाममा स्थानीय सरकारसँग हातेमालो गर्दै सरोकारवालाहरू लाग्नुपर्ने उनले बताए। मानव बेचबिखन जस्तो जघन्य अपराधमा संग्लग्न पीडकहरूलाई कानुनी कठघरामा ल्याउन तथा न्यायमा पीडितको पहुँच सुनिश्चित गर्नका लागि सहभागीले प्रतिबद्धता व्यक्त गरे। ‘सबै जुटेर मानव बेचबिखनको अन्त्य गरौं, मानवअधिकार सुनिश्चत गरौं’ –अध्यक्ष क्षेत्रीले भने।
कार्यक्रममा बलेफी गाउँपलिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश नेपाली, इलाका प्रहरी कार्यालय जलविरेका प्रहरी निरीक्षक गोपालप्रसाद ढकाल, वडाध्यक्षहरू, विभिन्न विद्यालयका प्रद्यानाध्यापकहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी थिए। कार्यक्रममा सहभागी ४० जनाभन्दा बढी जनप्रतिनिधि तथा सरोकारवालाहरूले मानव बेचबिखनको अन्त्य र मानवअधिकारको सुनिश्चितताका लागि ब्यानरमा सामूहिकरूपमा हस्ताक्षर समेत गरे। स्थानीय सरकारका प्रतिनिधि र सरोकारवालाबीचको अन्तक्र्रियापछि मानव बेचबिखनविरुद्धको कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउन सहज हुने सीवीसका जिल्ला कार्यक्रम संयोजक नवराज सापकोटाले बताए।











प्रतिक्रिया