इलाका प्रहरीलाई करोडौंको जग्गा

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे
इलाका प्रहरी कार्यालय बनेपाले लामो समयपछि नगरपालिकाले ढल प्रशोधन गर्न खरिद गरेको जग्गा उपलब्ध गराएको छ।
नगरबासीहरूको शान्ति सुरक्षालाई ध्यान दिँदै नगरपालिकाले ढल प्रशोधनका लागि खरिद गरेको जग्गा उक्त प्रयोजनमा नआएपछि प्रहरीलाई उपलब्ध गराइएको हो। इलाका प्रहरी कार्यालय बनेपालाई बनेपा नगरपालिकाले आफ्नै नाममा रहेको २ रोपनी जग्गा पास गरिदिएको हो। उक्त जग्गाको प्रदेश नम्बर ३ प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक दीपककुमार थापाले निरीक्षण गरेका थिए। जग्गा निरीक्षण गर्दै थापाले तत्काल इलाका कार्यालयको भवन निर्माण गर्ने कार्य अगाडि बढाउन सहजीकरण गर्ने बताए।

जग्गा व्यवस्थापनसँगै इलाका प्रहरी कार्यालयको सुविधा सम्पन्न भवनको बाटो खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविराज खड्काले बताए। इलाका प्रहरी कार्यालय बनेपालाई प्रहरी निरीक्षक तहको दरबन्दीबाट जनसंख्या तथा भौगोलिक चापका आधारमा थप गरी डीएसपी रहने गरी व्यवस्थापन गर्न जिल्ला सुरक्षा समितिको बैठकबाट गृह मन्त्रालयमा सिफारिस गरिएको छ। नगरपालिकाको पुष ५ र पुष २० गतेको बोर्ड बैठकको निर्णयअनुसार ६ बुँदे शर्त बन्देज गरी इलाका प्रहरी कार्यालय बनेपालाई जग्गा पास गरिदिएको हो। साविक दक्षुटोल वडा नम्बर ५ हाल बनेपा नरपालिका–८ मा रहेको कित्ता नम्बर २४७, १५६ र १५५७ मध्येबाट २ रोपनी जग्गा इलाका प्रहरी कार्यालय बनेपाको भवन निर्माण तथा सञ्चालन गर्ने प्रयोजनका लागि उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख लक्ष्मीनरसिंह बादेले बताए। उक्त जग्गा हाल साविक गर्दा पाँचवटा कित्तामा परिणत भएको छ। १ हजार १७ दशमलव ५० वर्ग मिटर रहेको उक्त जग्गा दानपत्रको लिखत गरी इलाका प्रहरी कार्यालय बनेपाका नाममा हस्तान्तरण गरिएको हो।

उक्त जग्गामा दुई वर्षभित्रमा भवन निर्माण कार्य प्रारम्भ नभएमा सम्झौताबमोजिम प्रहरी कार्यालयले कसैका नाममा बेचबिखन गर्न पाउने छैन। पौष २२ गते आइतबार बनेपा नगरपालिका कार्यालयमा इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराई र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौता लगत्तै जग्गा दानपत्रमार्फत मालपोत कार्यालयले इलाका प्रहरी कार्यालय बनेपाका नाममा लालपुर्जासहित पास गरिदिएको थियो।