दार्चुला, (नेस)
जिल्लाको दुहुँ गाउँपालिकाले स्थानीय तहमा हुने योजना निर्माण र कार्यान्वयनको पाटोलाई पादरर्शी र गुणस्तरीय बनाउन उपभोक्ता समितिका पदाधिकारीलाई तालिम दिइरहेको जनाएको छ। वडास्तरदेखि पालिकासम्ममा गठित उपभोक्ता समितिका पदाधिकारीलाई योजनासम्बन्धी जानकारी र प्रशिक्षण दिइएको गाउँपालिकाका सब इन्जिनियर दिलानन्द जोशीले जानकारी दिए।
प्रशिक्षणमा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवराज भट्टले गाउँपालिकामा हुने हरेक योजनामा अत्यधिक जनसहभागिता जुटाई योजनाहरू सञ्चालन गर्दै आएको र ती योजनाहरूलाई गुणस्तरीय र पारदर्शीरूपमा सञ्चालन गर्न स्थानीय तहमा गठित उपभोक्तालाई प्रशिक्षण दिँदै आएको बताए। उनले उपभोक्ता समितिका पदाधिकारीलाई स्थानीय तहमा विनियोजन गरेको रकमलाई सही ठाँउमा प्रयोग गर्न आग्रहसमेत गरे।
गाउँपालिकाले सबै वडामा उपभोक्ता समिति गठन गरी योजनालाई निष्पक्ष, पारदर्शी र जनसहभागितामूलक बनाउन प्रशिक्षण दिइरहेको गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले जानकारी दिए। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवराज भट्ट, सलेपा प्रेमबहादुर खड्का, सब इञ्जिनियर दिलानन्द जोशीले उपभोक्ता समितिका पदाधिकारीलाई प्रशिक्षण दिइरहेका छन्। तालिममा उपभोक्ता समितिका अध्यक्ष, कोषाध्यक्ष र सचिवलाई अनिवार्यरूपमा सहभागी गराउने गरेको गाउँपालिकाले जनाएको छ।











प्रतिक्रिया