न्यायिक समितिको छुट्टै कार्यालय स्थापना

0
Shares

बैतडी, (नेस)
न्यायिक समितिलाई प्रभावकारी बनाउनका लागि बैतडीको पुर्चौडी नगरपालिकाले न्यायिक समितिको अलग्गै कार्यालय बनाएको छ। न्यायिक समितिले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउने र न्यायिक समितिको कामकारबाहीका बारेमा सबैलाई जानकारी दिनका लागि अलग्गै कार्यालयको व्यवस्था गरिएको न्यायिक समितिकी संयोजक जानकी बमले बताइन्।

‘समितिका लागि कार्यपालिकाबाट निर्णय गरेर एकजना कर्मचारीको समेत व्यवस्था गरिएको छ। न्यायिक समितिमा आएका मुद्दालाई किनारा लगाउन प्रहरी चौकीमा जानुपर्ने बाध्यताको अन्त्य गर्दै न्यायिक समितिको कार्यालय स्थापना गरेको हो’, उनले भनिन्– ‘न्यायिक समितिमा धेरैजसो घरेलु हिंसाका मुद्दाहरू आउने गरेका छन्।’

न्यायिक समितिमा छिट्टै कानुनी सल्लाहकार राख्ने तयारी समेत भइरहेको पुर्चौडी नगरपालिकाले जनाएको छ।
जिल्लाका अन्य स्थानीय तहले समेत इजलास निर्माण र कानुनी सल्लाहकार राख्ने तयारी गरेका छन्। न्यायिक समितिका कामलाई पभावकारी बनाउनका लागि कानुनी सल्लाहकार राख्ने तयारी भएको दशरथचन्द नगरपालिकाकी न्यायिक समिति संयोजक मीना चन्दले बताइन्।

नेपालको संविधानको धारा २१७ मा आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरूपण गर्नका लागि न्यायिक समिति रहने व्यवस्था गरिएको छ। स्थानीय तहका उपप्रमुखको संयोजकत्वमा रहने समितिले स्थानीयस्तरमै न्याय दिनका लागि समितिको प्रावधान राखिएको हो।