नेपालको पूर्वाधार विकासमा सघाउन जापान इच्छुक

0
Shares

काठमाडौं, (नेस)
जापानले नेपालको पूर्वाधार विकासमा उपलब्ध गराउँदै आएको सहयोगलाई निरन्तरता दिने भएको छ। नेपालको प्राथमिकताका आधारमा सहयोग उपलब्ध गराउन सो मुलुक सकारात्मक भएको छ।

नेपाल भ्रमणमा रहनुभएका जापानी विदेशमन्त्री तारो कोनोले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँगको शिष्टाचार भेटवार्तामा यस्तो बताउनुभएको हो। जापानले नेपालको पूर्वाधार, कृषिको आधुनिकीकरण, ऊर्जालगायतका क्षेत्रमा सहयोग गर्दै आएकामा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले आभार व्यक्त गर्नुभएको थियो।

मन्त्री कोनो नेतृत्वको जापानी प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले जापानी सहयोगप्रति आभार व्यक्त गर्दै सहयोगलाई निरन्तरता दिन आग्रह गर्नुभएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा। राजन भट्टराईले बताउनुभयो। सार्क र बिमस्टेकजस्ता क्षेत्रीय संगठनले स्थापनाअनुसार गति लिनुपर्नेमा जोड दिनुभएका मन्त्री कोनोले क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोगमा आफ्नो मुलुकको साथ र सहयोग निरन्तर रहने बताउनुभएको भट्टराईले जानकारी दिनुभयो।

सोही भेटवार्तामा जापानी सहयोगमा निर्माण भएका पूर्वाधार र आगामी दिनमा निर्माण हुने सूर्यविनायक–धुलिखेल सडक विस्तार, कलंकी–नागढुंगा सुरुङ मार्गलगायतका परियोजनाबारेमा पनि छलफल भएको थियो। साथै नेपाली श्रमिकलाई जापानमा रोजगारी प्रदान गर्ने मोडालिटी छिटै टुङ्गो लगाउन छिटै जापानी टोली नेपाल आउनेबारेमा पनि छलफल भएको भट्टराईले बताउनुभयो।

नेपालको पर्यटन प्रबद्र्धन र नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जापानले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। मन्त्री कोनो नेतृत्वको जापानी टोली बिहीबार स्वदेश फर्किएको छ।