सांसदको हातमा कुचो देखेपछि स्थानीय दंग

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेताहरूले चुनाव जितेपछि जनताको माझमा फर्केरै आएनन् भन्ने विषयलाई मनन गरेरै होला जनस्वास्थ्यसँग जोडिएका विषयलाई लिएर बिहीबार बिहान प्रदेश सांसदद्वय दीपेन्द्र श्रेष्ठ र गणेश दुलाल खरेटो बोकेर नयाँ बानेश्वर चोकनजिकैको छक्कु बक्कु भगवती मन्दिरमा पुगे। यो दृश्यले स्थानीय बासिन्दा मात्र होइन, आसपासमा रहेका व्यक्ति तथा बटुवासमेत अचम्मित भएका थिए।

चुनावमा घरदैलो कार्यक्रममा समेत पूर्वजानकारी गराएर मात्र आउने नेताहरू एकाएक मन्दिर सरसफाइमा उत्रिनुले सबैलाई चकित बनाउनु स्वभाविकै थियो। कुचो नेताको हातामा मात्र थिएन, प्रहरी–समुदाय साझेदारी कार्यक्रमअन्तर्गत सामुदायिक प्रहरी सेवा लाखेचौरको पहलमा महानगरीय प्रही वृत्त नयाँ बानेश्वरद्वारा आयोजित सरसफाइ कार्यक्रममा सहभागी हुन सांसदद्वय श्रेष्ठ र दुलाल त्यहाँ पुगेका थिए।
सांसदद्वयका साथै वृत्त तथा महानगरीय प्रहरी प्रभाग बुद्धनगर, सामुदायिक प्रहरी सेवाका प्रहरीका साथै सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, काठमाडौं महानगरपालिका–१० अन्तर्गतका स्वास्थ्य स्वयंसेविकाहरू पनि सरसफाइ कार्यक्रममा सहभागी भएका थिए। जनस्वास्थ्यलाई ध्यानमा राखेर छेवैमा रहेको छक्कु बक्कु पार्कको पनि उक्त समूहले पनि सरसफाइ गरेको थियो। सरसफाइले मन्दिर परिसर र पार्क सफा हुँदा यस क्षेत्रका बासिन्दामा धूलोबाट हुने स्वास्थ्य समस्यामा कमी हुने भएपछि स्थानीय बासिन्दा पनि दंग भएका थिए।

सांसद श्रेष्ठले चुनावमा मात्र होइन, जनताको साथ सदासर्वदा चाहिने हुनाले समुदायलाई फाइदा हुने सबै खालका स्वास्थ्य, शिक्षा, सरसफाइ, सामाजिक कार्यमा आफ्नो सहभागिता रहने बताए।

यी कार्यलाई सुधार नगर्दा देशकै स्वास्थ्य तथा वातावरणीय साख गुम्ने डरले गृह मन्त्रालयले गत कात्तिक महिनादेखि अघि सारेको प्रहरी–समुदाय साझेदारी कार्यक्रमअन्तर्गत सरसफाइ कार्यक्रम पनि एउटा कार्यक्रम भएको र आफ्नो टोलछिमेक सफा गर्नु सम्बन्धित टोलबासीको दायित्व भएको सन्देश दिन सरसफाइ कार्यक्रम आयोजना गरिएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रमुख, प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले बताउनुभयो।