नेपाल समाचारपत्र, काठमाडौं
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित सिसं १२ सशस्त्र प्रहरी निरीक्षक अल्पकालीन आधारभूत तालिम सम्पन्न भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिहीबार एक कार्यक्रमका बीच सो तालिमको समापन गर्नुभयो।
उहाँले तालिममा सर्वप्रथम हुन सफल सशस्त्र प्रहरी निरीक्षक मदन अधिकारीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो अवसरमा तालिमबाट प्राप्त ज्ञान, सीप, कला र कौशललाई कार्यक्षेत्रमा गएपछि इमानदारिताका साथ लागू गरी उत्कृष्ट कार्यसम्पादनमा क्रियाशील रहन निर्देशन दिनुभयो।
उहाँले संगठन आजको यस स्थानसम्म आइपुग्नुमा अग्रजको महŒवपूर्ण योगदान रहेको उल्लेख गर्नुहुँदै राष्ट्र र नागरिकको सेवा तथा सुरक्षामा कटिबद्ध रहनु सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीको प्रमुख दायित्व र जिम्मेवारी भएको बताउनुभयो।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले सबै तहका सशस्त्र प्रहरी कर्मचारीलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राज्यप्रदत्त जिम्मेवारी पूरा गर्न सामूहिक भावनाका साथ जिम्मेवारी निर्वाहमा तल्लीन रहन निर्देशन दिनुभयो।
कार्यक्रमा सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुहुँदै प्रशिक्षार्थीले कार्यक्षेत्रमा गएपछि तालिमको दौरानमा आर्जन गरेको ज्ञानलाई उपयोग गर्दै उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो।
पाँच महिना अवधिको उक्त तालिममा ड्रिल, मानवअधिकार, नक्सा अध्ययन, खबर संकलन, हुल तथा दंगा व्यवस्थापन, विपद् व्यवस्थापन, सीमा सुरक्षा, औद्योगिक सुरक्षा, सुरक्षा योजना तथा कारबाही, हतियार ≈यान्डलिङलगायतका विषयमा सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण दिइएको कुरा सो अवसरमा जानकारी गराइएको थियो। उक्त तालिममा ५७ जना सशस्त्र प्रहरी निरीक्षक प्रशिक्षार्थीका रूपमा सहभागी रहेका थिए।











प्रतिक्रिया