मनोज भट्ट, महेन्द्रनगर
कञ्चनपुरको लालझाँडी गाउँपालिकाकै पहिलो कालोपत्रे सडकमा खबरदारी गर्दा गर्दै मापदण्डविपरीत काम भएको स्थानीयले आरोप लगाएका छन्। लालझाँडी गाउँपालिका–२ कन्जमा गाउँपालिकामै पहिलोपटक कालोपत्रे गरिएको सडक एक महिना नपुग्दै फुट्न थालेपछि स्थानीयले निर्माण व्यवसायीले मापदण्डविपरीत काम गरेको आरोप लगाएका हुन्।
लालझाँडी गाउँपालिका नै पक्की सडकविहीन रहेको अवस्थामा १६ लाखमा ठेक्का सम्झौता गरी कालोपत्रे गरिएको वडा नम्बर २ को कन्जको ३ सय २६ मिटर सडकमा निर्माण व्यवसायीले कमसल काम गरेको आरोप स्थानीयले लगाएका हुन्। करिब एक महिना पहिले मात्र कालोपत्रे गरिएको सडक भत्किन थालेको हो भने कालोपत्रे पनि बजेट जोगाउनका लागि निकै पातलो गरिएको छ।
स्थानीय मदन रानाले सडक कालोपत्रे गर्ने बेलादेखि नै मापदण्डविपरीत काम भएको भन्दै खबरदारी गर्दा गर्दै पनि निर्माण व्यवसायीले कमसल काम गरेको बताए। गाउँपालिकामै पहिलोपटक कालोपत्रे गरिएको सडक नमुना हुनुपर्ने बेला महिना दिनमै भत्किने बनेपछि समाजका अगुवा, लालझाँडी गाउँपालिकाका अध्यक्षलगायतका जनप्रतिनिधि र ठेकेदारको मिलोमतोमा आर्थिक चलखेल भएको स्थानीय दिनेशकुमार रानाले बताए।
विभिन्न स्थानीय तहमा जनप्रतिनिधि, कर्मचारी र निर्माण व्यवसायीको मिलमतोमा आर्थिक अनियमितता गर्दै मापदण्डविपरीत विकास निर्माणका काम भइरहेको जनगुनासो बढिरहेका बेला लालझाँडी गाउँपालिकामा पनि आर्थिक अनियमितता गर्नका लागि गुणस्तरहिन काम गरेको पाइएको हो।
तर गाउँपालिकाले भने दाउत निर्माण सेवाले ठेक्का लिएर कालोपत्रे गरिएको सो सडकमा प्राविधिक मूल्यांकन गर्न बाँकी रहेको जनाएको छ। ठेकेदारलाई भुक्तानी पनि नदिइएकाले सडकको गुणस्तरको अवस्था मापन गरेर अगाडि बढ्ने लालझाँडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले जनाए। साइकल चलाउँदा समेत कालोपत्रे उप्किरहेको सो सडकमा कमसल काम भएको विषयमा प्रतिक्रिया माग्न खोज्दा दाउत निर्माण सेवाका सञ्चालक दाउत तामाङ भने गाउँपालिका कार्यालयबाटै बेपत्ता भएका थिए।
सडक पूर्वाधारमा निकै पछाडि रहेको लालझाँडी गाउँपालिकाले पहिलोपटक कालोपत्रे गरेको ३ सय २६ मिटर सडकमै आर्थिक अनियमितता गरेर जनप्रतिनिधिले नै कमसल काम गरेपछि स्थानीय निराश भएका छन्। अगामी दिनमा कार्यान्वयन हुने सडक योजनामा सशक्त खबरदारी गर्ने पाठ पनि सिकेको स्थानीयले बताए।











प्रतिक्रिया