मनोज भट्ट, महेन्द्रनगर ।
थारु समुदायको महान् पर्वका रुपमा रहेको ‘माघी’ पर्व आउन केही दिन बाँकी रहँदा कञ्चनपुरसहित तराईका जिल्लामा बसोबास गर्ने यो समुदायका मानिसहरु तयारीमा जुटेका छन् । थारु जातिको पहिचान बोकेको ‘माघी’ को तयारीमा थारु समुदायका मानिसहरु व्यस्त रहेका हुन् ।
चौधरी–थारु समुदायका महिला पुरुषहरु अहिले आ–आफ्नो तयारीमा जुटेका छन् । नयाँ वर्ष आरम्भका रुपमा उल्लासका साथ मनाइने यो पर्वको चहलपहल थारु बस्तीमा सुरु भएको छ । थारु समुदायका युवतीहरु अहिले घर लिपपोतका साथै जाँड, ढिक्री, रोटी तयार गर्नमा व्यस्त देखिन्छन् भने पुरुष माघीका लागि मासुको जोहो गर्ने तयारीमा छन् ।
कञ्चनपुर जिल्लाका थारू बस्तीमा पनि महिला तथा पुरुष आ–आफ्नै काममा व्यस्त छन् । पुरुष सुँगुरको मासु काट्नेदेखि लिएर अन्य काममा व्यस्त छन् भने महिला रोटी पकाउने तथा पिठोको तयारीदेखि लिएर दुना टपरी बनाउनमा व्यस्त छन् ।

अधिकांश थारु बस्तीमा माघीका लागि आवश्यक माछा मार्नेलगायत कामको चटारो रहेको कञ्चनपुर बेदकोट–५, का सिताराम चौधरीले बताए । माघीका लागि जाँड र मासु खानका लागि दुना, टपरी बनाउन लागेको फुलमती चौधरीले बताइन् । ‘माघीमा पाहुना धेरै जम्मा हुने भएकाले जाँड, मासु र खानेकुराको जोहो गर्दैछुँ’, उनले भनिन् ।
माघी पर्व मनाउनका लागि १ महिना अगाडिदेखि नै तयारी सुरु हुने थारु अगुवाहरु बताउँछन् । जसमा खानाका परिकारहरू पकाउनका लागि काठ, दाउरा अनादीको चामलको गुलियो जाँड, रक्सी, वनबाट मालु र सालको पात टिपेर ल्याइ दुना, टपरी गाँस्ने तोरीको खाने तेल पेल्ने आदि काम गरिन्छ । नजिकको खोला, तलाउमा माछा मारेर ल्याइ आगोमा सेकाइ सुकाइने सिताराम चौधरीले बताए । यस पर्वमा गाउँको मुख्य व्यक्तिका रुपमा छनोट गरिने भलमन्सा, अघरियालगायतका पदमा आसिन हुनेको छनौट गरिने भएकाले क–कसलाई छनोट गर्ने भन्ने विषयमा बस्तीमा एकआपसमा छलफल हुन थालेको छ ।
पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरमा बस्ने आदिवासी जनजाति धर्तिपुत्र भनिएका थारु समुदायले माघीलाई नयाँ वर्ष, उन्मुक्ति दिवस, सद्भाव र मेलमिलापको पर्वका रूपमा मनाउँछन् । पुस मसान्तमा आ–आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघ १ गतेदेखि नयाँ हिसाबकिताब सुरू गर्ने तयारीमा थारु समुदाय छन् । माघीमा नै थारू समुदायका मानिसहरू आफ्नो घर सल्लाह गर्ने प्रचलन रहेको छ ।











प्रतिक्रिया