नानीराम नेपाल, सिन्धुपाल्चोक
खेतियोग्य जग्गाजमिन क्रमशः झाडीमा परिणत भइरहेको छ । वन्यजन्तुले वाली खानै नदिएपछि बलेफी गाउँपालिका ३ को उपल्लो भेगमा स्थानीयले खेति गर्नै छाडिदिएका छन् ।
बंदेलले दुख दिन थालेयता साविक फुल्पिङकोट गाउँ विकास समितिस्थित ओख्रेनी, त्याङथली, सिमासिङ र आसपासका क्षेत्रमा स्थानीयले खेति गर्न छाडिदिएका हुन् । हिजोका उर्वर र खेतियोग्ज जग्गाजमिन जंगल बनिरहेको छ । दिनानुदिन जग्गा बाँझो छाड्ने क्रम बढिरहेको छ । ‘खेति ग¥यो बँदेललाई हुने, अनि कसले दुख गर्छ ?’, शुक्रबार बलेफी गाउँपालिका–३ स्थित त्याङथलीमा पुग्दा स्थानीयवासीका साझा आवाज सुनियो । बिकासमा गाउँको पहुँच क्रमश बढिरहँदा जंगली जनावरका कारण स्थानीयवासीले खेति गर्न नसकिरहेको स्थानीय अगुवा ओमबहादुर खत्रीले सुनाए । ‘दुख ग¥यो, वालीजति बँदेललाई हुन्छ’, खत्री भन्छन्,– ‘उर्वर जग्गा बाँझै राखेर खाद्यान्न किनेर खानुपर्ने अवस्था छ ।’ बँदेलकै कारण अन्यत्र बसाइँ सर्नुपर्ने अवस्था निम्तिएको उनी सुनाउँछन् । ‘बस्नै नसकीने भो, बसाइँ सरेर पनि कहाँ जानु ?’
खेतियोग्य जग्गा बाँझो छाड्ने क्रम बढ्यो
जंगली जनावरले वाली सखाप पार्न थालेपछि स्थानीयले गाउँ सरकारका प्रमुखसँग जंगली जनावर नियन्त्रण गरिदिन आग्रह गरेका छन् । शुक्रबार सिमासिङ बस्ति बिद्युतिकरण उद्घाटनका क्रममा गाउँ पुगेका बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री, उपाध्यक्ष कमला कायस्थ र वडाध्यक्षहरुसँग स्थानीयले जंगली जनावर नियन्त्रण गरिदिन आग्रह गरे ।
‘लगाएको वाली जोगाउन सकीएन, अध्यक्ष ज्यू जंगली जनावरले वाली खानै दिएन’, स्थानीय टेक्से तामाङले भने,–‘जग्गा बाँझो राखेर हामीले के खानु ?’ गाउँपालिकाले अब कृषकका वाली संरक्षणका लागि पनि ध्यान दिनुपर्ने उनले सुनाए । ‘विकास निर्माणका काम त भइरहेको छ, अब कृषकले लगाएका वाली जोगाइदिनुप¥यो’, ओख्रेनीका स्थानीय ओमबहादुर खत्रीले थपे ।
विकासमा यसभेगको पहुँच क्रमशः बढिरहेको भन्दै अध्यक्ष क्षत्रीले वाली संरक्षणको सवाल पेचिलो बनिरहेको बताए । जंगली जनावर नियन्त्रण नै गर्न कठिन छ, जनावरकै कारण उर्वर भूमी बाँझो बसिरहेका छन्’, उनले भने,–‘यस विषयमा हामी केहि उपाय अवलम्बन गर्नेछौं ।’ बंदेलले वाली खायो भनेर जगगाजमिन बाँझै राख्नु नहुने भन्दै जनावरले नखाने खालका वाली लगाउनुपर्नेमा उनले जोड दिए ।
जंगली जनावरबाट वडाका कृषकहरु आक्रान्त बनिरहेको भन्दै जग्गाजमिन बाँझो छाड्ने क्रम बढिरहेको वडाध्यक्ष बीरमान तामाङ बताउँछन् । ‘तत्कालै जंगली जनावर नियन्त्रण गर्ने अवस्था छैन, कृषकहरुले वाली संरक्षण गर्न पनि सकीरहेका छैनन्’, अध्यक्ष तामाङ भन्छन्, ‘तल्लो भेगसम्म नै बँदेलले दुख दिन थालेको छ ।’











प्रतिक्रिया