-नरेन्द्र केसी, दाङ
दाङका खोलाहरुमा प्राकृतिक स्रोतसाधनको अवैध उत्खनन् अझै बढेको छ।
प्राकृतिक स्रोत साधन उत्खनन् र परिचालनको जिम्मा स्थानीय तहरुले पाएपछि कतै स्थानीय तहबीचमै विवाद देखिएको छ भने कतै ठेक्काको बहानामा मनपरि उत्खनन् भइरहेको छ ।
केही दिनअघि उत्खनन्को बिषयमा राप्ती र गढवा गाउँपालिकाबीच सीमा विवाद पनि देखिएको छ । राप्तीको अनुमित लिएर गढवामा उत्खनन् गरेको भन्दै प्रहरीले नै हस्तक्षेप गर्नुपरेको थियो ।
त्यस्तै मंगलवार पश्चिम दाङमा गाउँपालिकाले टेण्डर गरेको क्षेत्रभन्दा बाहिर ब्यापक मात्रामा उत्खनन् भइरहेको फेला परेको छ । जिल्ला अनुगमन समन्वय समितिले बबइ गाउँपालिका ७ को कालीतराबाट अवैध नदीजन्यपदार्थ उत्खनन गर्दै गरेका १० टेक्ट्रर नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएका टेक्ट्रर प्रहरीलाई जिम्मा लगाएको जिल्ला अनुगमन समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले बताउनुभयो ।
गाउँपालिकाकाले टेण्डर गरेको भन्दाबाहिर क्षेत्रबाट उत्खनन भइरहेको राखेको अवस्थामा टेक्ट्ररलाई नियन्त्रणमा लिएको अनुगमट टोलीले जनाएको छ । बबइ गाउँपालिकाले चालु आर्थिक वर्षको लागि च्याटीखोलाको दोभानमा टेण्डर खोलेको छ । तर व्यवसायीले बबइगाउँपालिकाको ७ को कालीतरा क्षेत्र र सामुदायिक वनबाट समेत उत्खनन् गरेको पाइएको छ ।
व्यवसायीले जथाभावी गरेको उत्खननले गाउँहरु समेत समेत जोखिममा पर्न थालेका छन् । जथाभावीको उत्खननले कालीतारा गाउँ नै जोखिममा परेको स्थानीयले बताएका छन् । अवैध उत्खनन् रोकिएन भने गाउँ समेत बग्ने अवस्थामा रहेको र तत्काल ८० घर परिवारलाई अन्यत्र सार्ने स्थिति आउने जिल्ला समन्वय समितिका सदस्य जक्तबहादुर बस्नेतले बताउनुभयो ।
प्राकृतिक स्रोत साधन परिचालनको जिम्मा स्थानीय तहले पाएपछि अझ बढी बेथिति बढेको छ । स्थानीय सरकारले स्रोत साधन जोगाउन नसक्दा स्थानीयवासीले माथिल्लो निकाय गुहार्ने अवस्थासमेत आएको छ । खोलामा अवैध उत्खनन् भएपछि स्थानीयले अनुगमनको लागि जिल्ला समन्वय समितिमा निवेदन समेत दिएका थिए ।
सो निवेदनअनुसार अनुगमनमा जाँदा धेरै बेथिति देखिएको जिल्ला समन्वय समितिका प्रमुख नेपालले बताउनुभयो । बेथिति रोक्न र संभावित क्षेत्रमा निगरानी बढाउनस्थानीयवासी, गाउँपालिका र प्रहरीलाई निर्देशन दिएको उहाँले जानकारी दिनुभयो ।
जिल्ला अनुगमन समन्वय समितिका सदस्य तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले कानूनभन्दाबाहिर गएर काम गर्न कसैलाई छुट नभएकाले प्रहरी प्रशासन कडाइका साथ लाग्ने बताउनुभयो । अवैध रुपमा उत्खनन् भएको फेला परेको उल्लेख गर्दै उहाँले यसलाई जसरी पनि कानूनी दायरामा ल्याउने बताउनुभयो । त्यस क्षेत्रमा प्रशासनले समेत निगरानी बढाउएको प्रजिअ रिजालले जानकारी दिनुभयो ।











प्रतिक्रिया