सुप विश्वविद्यालय भित्रको बेथितिः आन्दोलन भड्काउने गरि गठन गरियो प्राध्यापकको अर्को समिति

94
Shares

मनोज भट्ट, महेन्द्रनगर ।
सूदूर पश्चिमाञ्चल विश्वविद्यालयमा प्रिन्सिपल डा. भुपेन्द्र बिष्टले रातारात अवैधानिक तरिकाले २८ जना शिक्षक तथा कर्मचारी नियुक्त गरेको विरोधमा विद्यार्थीहरुले कहिले तालाबन्दी गरे, भने कहिले प्रिन्सिपल बिष्ट लगायत अन्य केहि डीन तथा प्राध्यापकका कुर्सी समेत जलाए । विद्यार्थीहरुको आन्दोलनलाई समर्थन जनाउदै प्राध्यापकहरुले पनि कहिले हातमा कालो पट्टि बाधेर बिरोध गरे, त कहिले मुुख्यमन्त्री र प्रधानमन्त्रीलाई समेत विश्वविद्यालयको बेथिति बिरुद्ध ज्ञापन पत्र बुझाउदै आन्दोलन गरे ।

विश्वविद्यालयका प्रिन्सिपल बिष्ट, उपकूलपति भूषण श्रेष्ठ र रजिष्ट्रार द्धिजराज भट्टका गलत प्रवृति र अवैध क्रियाकलाप बिरुद्ध अधिकांश प्राध्यापकहरु खुलेरै लागे । सुरुवाती चरणमा प्राध्यापकहरुका दुई भेलामा यज्ञराज पाठकको नेतृत्वमा आन्दोलनका कार्यक्रम तथा स्वरुपहरु तय भए । विश्वविद्यालयको बेथिति बिरुद्ध केन्द्रीय क्याम्पस महेन्द्रनगरका सम्पुर्ण प्राध्यापकहरुले हस्ताक्षर समेत गरे । सघर्ष समिति समेत गठन गरियो ।

प्रिन्सिपल बिष्टलाई नै सल्लाहकार समितिको संयोजक राखेर फेरि खडा गरियो अर्को तदर्थ समिति !

केन्द्रीय क्याम्पस लगायत आंगिक क्याम्पसका प्राध्यापकहरु एकजुट भएर विश्वविद्यालयका बेथिति बिरुद्ध उभिएको संकेत दियो । लगत्तै यहि १९ पुसमा विश्वविद्यालयमा रहेका विभिन्न प्राध्यापक संघ–संगठनहरु खारेज गरि विश्वविद्यालयका १४ आंगिक क्याम्पस समेत समायोजन गरेर यज्ञराज पाठकको संयोजकत्वमा सुदूर पश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक संघ गठन गरियो । पाठकको नेतृत्वले ३९ सदस्यीय तदर्थ समिति गठन गर्यो । जसमा केन्द्रीय क्याम्पस र आंगिक क्याम्पसका सम्पुर्ण प्राध्यापकहरुको समेत सहमति रहेको थियो ।

सुप विश्वविद्यालय प्राध्यापक संघ गठन गरिए संगै सम्पुर्ण सिन्डिकेटको अन्त्यको आशा गरिएको थियो । विश्वविद्यालयमा हुने गरेका सबै प्रकारका अवैध गतिविधि, विकृति तथा गैरजिम्मेवारहरुको भण्डाफोर र ऐक्यवद्ध भएर विरोध गर्नका निमित्त उक्त संघ सक्रिय रहने समेत उक्त तदर्थ समितिका संयोजक पाठकले बताएका थिए ।

तर मंगलवार फेरि विश्वविद्यालयमा एक अर्को तदर्थ समिति गठन गएिको छ । विश्वविद्यालयका १४ वटै आंगिक क्याम्पसका प्राध्यापकको भेलाबाट बीरबहादुर सिंह ठकुरीको संयोजकत्वमा ५५ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

“सह–संयोजक चयन गरिएका कडायत भन्छन्ः कसले सह–संयोजक बनायो मलाई नै थाहाँ छैन”

मंगलवार एक प्रेस नोट जारी गर्दै विश्वविद्यालयमा क्रियाशिल प्राध्यापक संघको छलफलको आवश्यकता नै महसुस नगरी आफ्नो स्वार्थपूर्तिका लागि होटेलको एक कोठामा बसी प्राध्यापक संघ गठनको नाटक मञ्चन गर्ने काम गरिएको आरोप लगाउदै ठकुरीको संयोजकत्वमा नयाँ तदर्थ समिति गठन गरिएको हो ।

मंगलवार गठन गरिएको तदर्थ समितिका संयोजक समेत रहेका ठकुरीले यज्ञराज पाठक नेतृत्वको तदर्थ समितिका लागि पहिले नै हस्ताक्षर समेत गरेका थिए । विश्वविद्यालयमा पहिलो चरणमा भएका प्राध्यापकहरुको भेलामा पाठकको नेतृत्वमा अगाडि बढ्ने भनेर हस्ताक्षर समेत गरेका अनुहार पनि ठकुरीको समितिमा देखिएका छन् ।

अचम्मको कुरा त के छ भने मंगलवार गठन गरिएको प्राध्यापकहरुको तदर्थ समितिको सह–संयोजक पदमा चयन गरिएका हरिकृष्ण कडायत आफुलाई सह–संयोजक बनेको कुरा समेत थाहाँ नभएको बताउछन् । कडायत यज्ञराज पाठकको समितिका समेत सदस्य रहेका छन् । ‘म अत्तरिया नै छु, मलाई कसले उपाध्यक्ष बनायो मलाई थाहाँ छैन ।’ उनले भने । त्यसै अर्का सदस्य पदमा चयन गरिएका यज्ञराज जोशीले समेत आफुलाई उक्त समितिमा राखिएकोमा आपत्ति जनाएका छन् । मंगलवार गठन गरिएको उक्त तदर्थ समितिमा ८० प्रतिशत सदस्यहरुलाई जानकारि नै नदिई समितिमा नाम चयन गरिएको बताएको छ ।

अर्को अचम्म लाग्दो कुरा, प्रिन्सिपल डा. बिष्ट, उपकूलपति श्रेष्ठ र रजिष्ट्रार भट्टका बेथिति बिरुद्ध भण्डाफोर गर्न उक्त प्राध्यापक संघ लाग्ने भनेर तयार पारिएको तदर्थ समितिमा सल्लाहकार समितिको संयोजकमा विश्वविद्यालयका प्रिन्सिपल डा. बिष्टलाई नै राखिएको छ । भने सल्लाहकार समितिमा १४ वटै आंगिक क्याम्पसका क्याम्पस प्रमुखलाई सदस्यमा चयन गरिएको छ ।

प्रिन्सिपल डा. बिष्टले नै रातारात अवैध नियुक्ति दिएर गल्ति गरेकोमा त्यस्ता कमिकमजोरी, अनियमिततालाई निर्मुल पार्न आन्दोलन गर्ने गरि गठन गरिएको समितिमा उनै प्रिन्सिपल सल्लाहकार समितिको संयोजक हुनु हास्यास्पद रहेको छ ।

प्रिन्सिपल बिष्ट नै सल्लाहकार समितिको संयोजक रहको विश्वविद्यालय प्राध्यापक संघ तदर्थ समितिले केन्द्रीय क्याम्पसका पिन्सिपल विष्ट स्वयं लाई चारबुँदे लिखित मागपत्र समेत बुझाएको छ । केन्द्रीय क्याम्पसमा रहेका तालाबन्दी खोल्ने, विवादित कर्मचारी भर्ना, तलब भत्ता यथाशिघ्र निकासा र शैक्षिक वातावरण सम्बन्धमा माग पत्र बुझाएको उक्त समितिले जनाएको छ ।