छाउगोठमा आगलागी हुँदा तीन जनाको मृत्यु

0
Shares

दयाराम पण्डित, बाजुरा ।
बाजुराको बुढीनन्दा नगरपालिका वडा नं ९ को अंगाउपानी स्थित भुगेचौर छाउगोठमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । महिनावारी भएर छाउगोठमा सुती रहेको अवस्थामा आज विहान आगलागिबाट मृत अवस्थामा फेला पारिएको हो । मृत्यु हुनेमा आमा अम्वा बोहोरा सहित १२ बर्षका छोरा सुरेर बोहोरा र ९ बर्षका छोरा रमित बोहोरा रहेको प्रहरीले जनाएको छ ।

महिनावारी भएर घर नजिकैको छाउपडि गोठमा बसेकी बोहोराले जाडो भएपछि राति आगो बालेको हुन सक्ने र आगो ननिभाईकनै सुत्दा सोहि आगो सल्कीएर आमा छोराको मृत्यु भएको हुन सक्ने अनुमान स्थानियले गरेका छन । मृतक बोहोराकी सासुआमाले विहान पाँच बजे तिर नास्ता दिन जाने बेला आगो लागेर मृत्युभएको अवस्थामा देखेपछि स्थानियलाई खवर गरेको बताइएको छ ।

मृतक बोहोराका श्रीमान काशी बोहोरा भने मजदुरीका लागि भारतमा रहेको पारिवारिक स्रोतले जनाएको छ । अहिले इलाका प्रहरी कोल्टीको टोली घटना स्थलतर्फ गइसकेको जनाइएको छ । थप विस्तृत विवरण भने आउन वाकी नै छ ।