चीनमा हिरासतमा लिइएका क्यानाडाली नागरिक रिहा गर्न माग


टोरोन्टो (एजेन्सी)
ह्वाइट हाउसले चीनमा क्यानाडाका दुई नागरिक हिरासतमा लिइनु गैरकानुनी भएको जनाएको छ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ती दुई नागरिकको रिहाईको माग जारी राख्नेमा सहमति जनाएका अधिकारीहरुले जानकारी दिएकाछन् ।

चीनले गत महिना क्यानाडामा हुवावे कम्पनीकी मुख्य आर्थिक प्रमुख मेंग वांगझुको पक्राउ गरिएको बदलामा क्यानाडाका दुई नागरिकलाई हिरासतमा लिएको थियो ।

हिरासतमा लिइएका नागरिकमा क्यानाडाका पुर्व राजनितिक माइकल कोवरिग र उद्योगपति माइकल स्पारोव हुन् । उक्त घटनालाई लिएर ट्रुडोले ट्रम्पसँग सोमबार फोनमा वार्ता गरेका थिए । ह्वाइट हाउसका प्रवक्ता सराह सेन्डर्सले राष्ट्रपति ट्रम्प र क्यानाडाका प्रधानमन्त्रीबीच फोन वार्ता भएको जानकारी दिएको हो । यस क्रममा दुबै नेताले चीनमा क्यानाडाका दुई नागरिकको गैरकानुनी हिरासत र द्विपक्षिय ब्यापारिक मुद्दामा छलफल गरेको उनले जानकारी दिइन् ।

ह्वाइट हाउसले यसअघि यस मुद्दामा सार्वजनिक रुपमा केही बोलेको थिएन । अमेरिकी विदेशमन्त्री माइक पोम्पियो र विदेश मन्त्रालयका प्रवक्ताले उनको रिहाइका लागि अपिल गरेका थिए ।

ट्रुडोको कार्यालयले चीनमा दुई नागरिकलाई मनोमानी पुर्वक हिरासतमा लिएको घटनामा अमेरिकाको समर्थनका लागि प्रधानमन्त्रीले राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएको जनाएको छ ।