विनोदसिंह विष्ट, बैतडी
क्षमताभन्दा बढी सवारीसाधन चल्दा बैतडी–दार्चुला जोड्ने चमेलिया नदीमाथिको मुख्य मोटरेबल पक्की पुल जीर्ण हुँदै गएको छ । आर्थिक बर्ष २०५९÷६० मा बनेको सो पुल जीर्ण बन्दै गएको स्थानीय बासिन्दाहरुले बताएका छन् ।
बैतडी र दार्चुला जिल्ला जोड्ने मुख्य पुलको रुपमा रहेको चमेलिया पुल जीर्ण बनेको डिलाशैनी गाउँपालिका ६ गोकुलेश्वरका सुरेश श्रेष्ठले बताए । दार्चुला जिल्लालाई राष्ट्रिय राजमार्गको पहुँचमा पुर्याउने एक मात्र चमेलिया पुल भएको हो उनले भने“ यो पुुलको बीचमा खाल्डाखुल्डी परेर जीर्ण भईसकेको छ ”
बैतडीका नागरिकले दार्चुला जाने र दार्चुलाका नागरिकले बैतडीले आउने चमेलिया पुल मुख्य पुल भएको भएपनि जीर्णोद्धारका लागि कसैले पहल नगरेको स्थानीयबासीको गुनासो छ ।
दार्चुलालाई सडक सञ्जाल संग जोड्न १ सय २० मिटर लामो पुल ५ करोड लागतमा निर्माण गरिएको थियो । १६ वर्ष अघि निर्माण पुरा भएको पक्की पुलको समयमा मर्मत र संरक्षण नहुँदा संरचनाहरु कमजोर बन्दै गएका छन् । निर्माण पश्चात एक पटक मात्रै पुलमा रंगरोगन गरिएको छ । त्यस बाहेक सरोकारवाला पक्षले पुलको संरक्षणका लागि केही पहल नगरेको गोकुलेश्वरका व्यापारी देव बिष्टले बताए ।
पुलको क्षमता भन्दा बढी लोड भएका सवारी साधन सञ्चालन हुनु, पुलको बीचबाटै नालीको पानी बगाउनु लगायतका कारणले पुल जीर्ण बन्दै गएको सडक डिभिजन कार्यालय पाटन बैतडीका सव इन्जिनियर योगेन्द्र स्वाँरले बताए । उनले भने“ चमेलिया पुलको चालु आर्थिक बर्षमा मर्मत सम्भारका लागि स्टमेट तयार भईरहको छ”
दार्चुलाको मुख्य प्रवेशद्वारका रुपमा रहेको सो पुल भएर हाल दैनिक दुई सय बढी सवारी साधनहरु चल्ने गर्दछन् ।











प्रतिक्रिया