सवारी दुर्घटनामा १ हजार १ सय ७६ जनाको मुत्यु

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा
मुलुकभर चालकको लापरबाहीले सडक दुर्घटना हुने गरेको पाइएको छ । पञ्चसिद्धि फाउण्डेसनले हेटौंडामा गरेको ‘सडक दुर्घटना र यसको समाधानका उपाय’ विषयक छलफलमा यस्तो बताइएको हो ।

छलफलमा प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय नक्सालका प्रमुख प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले चालु आर्थिक वर्षको पुस २० गतेसम्मको तथ्यांक हेर्दा १ हजार १ सय ७६ जनाको मुत्यु सवारी दुर्घटनामा परेर भएको र प्रदेश–३ मा उपत्यकाबाहेक सवारी दुर्घटनामा मुत्यु हुनेको संख्या २ सय २५ रहेको बताउनुभयो ।

उहाँले सबभन्दा बढी मोटरसाइकल दुर्घटना हुने गरेको बताउँदै उपत्यकामा विहान, प्रदेश–३ मा दिउँसो १२ बजेदेखि साँझ ६ बजेबीच र प्रदेश–५ मा बेलुका बढी दुर्घटना हुने गरेको बताउनुभयो । उहाँले यी सबै दुर्घटनाको मुख्य कारण चालकको लापरबाही भएको दाबी गर्नुभयो ।

प्रहरी नायब महानिरीक्षक जोशीले प्रदेश–३ मा उपत्यकाबाहेक दैनिक १.२ का दरले दुर्घटनामा परेर मुत्यु हुने गरेको र हालको दुर्घटनाको तथ्यअनुसार दुर्घटना ग्रामीण सडकमा हुने गरेको बताउनुभयो ।

३ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दीपककुमार थापाले सवारीचालकले इन्डिकेटरको ख्याल नगर्दा दुर्घटना हुने गरेको बताउनुभयो । उहाँले सवारी दुर्घटना न्यूनीकरणका लागि केही नीति बने पनि ग्रहण गर्न नसक्दा दुर्घटना हुने गरेको बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले संसद्मा सार्वजनिक महत्व विषयको प्रस्ताव दर्ता भएको र त्यसमा दुर्घटना न्यूनीकरणका केही विषय समावेश रहेकोले प्रस्ताव पास भए दुर्घटना न्यूनीकरणका लागि ठोस कदम चाल्न सकिने बताउनुभयो ।

ट्राफिक प्रहरी प्रमुख किरण बज्राचार्यले राजर्मागमा गुड्ने मर्मतसंभार नभएका र कमाउने उद्धेश्य राख्ने तर यान्त्रिक परीक्षण नगरिएका सवारी दुर्घटनाका भागीदार भएको बताउनुभयो । हेटौंडा उपमहानगर प्रमुख हरिबहादुर महतले दुर्घटना न्यूनीकरणका लागि सडक साँघुरो भएको भन्दै २५ मिटर सडक बिस्तार गनुपर्ने बताउनुभयो ।

फाउण्डेसन अध्यक्ष सिद्धिलाल श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा ३ नम्बर ट्राफिक प्रहरी प्रमुख नवीन राई, पत्रकार महासंघ प्रदेश अध्यक्ष प्रताप बिष्ट, पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाईं, यातायात व्यबसायी, सवारीचालक, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको सहभागिता थियो ।