खाद्य परीक्षण प्रयोगशाला शुरू

0
Shares

हेटौंडा,(नेस)
हेटौंडा उपमहानगरपालिकाले खाद्य परीक्षण प्रयोगशाला शुरु गरेको छ । प्रयोगशाला उद्घाटन गर्दै हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतले हेटौंडाबासीलाई अखाद्य वस्तु खानु नपरोस् भन्ने लक्ष्य राखेर प्रयोगशाला स्थापना गरिएको बताउनुभयो ।

तेल, मासु र मिठाइजन्य पदार्थमा मिसावटबाट मानिस बिरामी हुने समस्याका कारण प्रयोगशाला स्थापना गरेर परीक्षण शुरु गरिएको उहाँले बताउनुभयो ।
बजार अनुगमन गरेर निरन्तर खाद्यपदार्थ परीक्षण गरिने बताउँदै मेयर महतले भन्नुभयो–‘अखाद्य वस्तु बिक्री गर्ने र खाद्यपदार्थमा मिसावट गरी बिक्री गर्नेलाई तत्काल कारबाही गरिनेछ ।

‘मानिसको स्वास्थ्यमा असर गर्ने खाद्यपदार्थ बिक्री गरे उसलाई कसैको सोर्सफोर्सबाट छुट्ने अवस्था हुँदैन,’ उहाँले भन्नुभयो । यस वर्ष प्रयोगशालाका लागि उपमहानगरले २० लाख छुट्याएको र आवश्यक परेमा अरु रकम विनियोजन गर्न सकिने उहाँको भनाइ छ ।

प्रयोगशालामा पानी, मासु, मिठाइ, खाद्यान्न, तेललगायत पदार्थ परीक्षण गर्न सकिने हेटौंडा उपमहानगर खाद्यपरीक्षक एलिना न्यौपानेले बताउनुभयो । उपमहानगरबाहेकमा पनि नागरिकले खाद्यपदार्थ परीक्षण गर्न शुल्क लाग्ने व्यवस्था गरिने न्यौपानेले बताउनुभयो ।

हाल ४ वटा वस्तुको परीक्षणको लागि केमिकल आएको छ । सबै खाद्य वस्तु परीक्षण गर्नसक्ने मेसिन छ । केमिकल आए अन्य वस्तु थप गर्न सकिने उहाँले बताउनुभयो । प्रयोगशालामा व्यक्तिगत र संस्थागत सम्पँर्ण खाद्यवस्तु परीक्षण गर्न ल्याउन सकिने उहाँको भनाइ छ । प्रयोगशालाबाट बजारमा भएका खाद्य वस्तु खानयोग्य छ वा छैन परीक्षण गरी नतिजाका आधारमा मुद्दा चलाउनुपर्ने भए मुद्दा पनि चलाइनेछ ।

उहाँले उपमहानगरपालिकाले बजार अनुगमन शुरुवात गर्ने र अनुगमनलाई प्रभावकारी बनाएर आमउपभोक्ताको स्वास्थ्यमा असर गर्ने खाद्यपदार्थ बिक्री गर्न रोक लगाउने तयारी थालिएको बताउनुभयो । खाद्यपरीक्षणका सम्बन्धमा तयार पारिएको कार्यविधि नगर कार्यपालिका बैठकबाट पारित भइसकेको छ ।

उपमहानगर सामाजिक विकास महाशाखा प्रबन्धक भीम तिमल्सिनाका अनुसार निर्देशिका पास भएर खाद्य प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । प्रयोगशालाबाट विशेषगरी खाद्य अनुगमन टोलीले ल्याएका नमुना परीक्षण गरिने उहाँले बताउनुभयो ।