नेपाल समाचारपत्र, काठमाडौं ।
विगत लामो समयदेखि मुलुकमा संचालित राष्ट्रिय गौरबको आयोजनाको विषयले संघीय संसदको विकास तथा प्रविधि समितिमा प्रवेश पाएको छ ।
समितिको मंगलबार बसेको बैठकमा राष्ट्रिय सतर्कता केन्द्रलाई बोलाएर ती आयोजनाका विद्यमान अबस्था र अनुगमन लगायतका विषयमा छलफल गरेको थियो ।
समिति बैठकमा बोल्ने अधिकांश सांसदहरुले राष्ट्रिय गौरवको आयोजनामा भएको ढिलासुस्तीलाई महारोगको संज्ञा दिएका थिए । त्यस्ता आयोजनाको अनुगमन केन्द्रले समयमा नगर्दा समस्यामाथि समस्या बढ्दै गएको बताए ।
पूर्व प्रधानमन्त्री तथा सांसद झलनाथ खनालले राष्ट्रिय गौरबका आयोजनाहरु अन्तिम चरणमा घिटीघिटी भएर ढिलासुस्ती हुने गरेकाले समयमै अनुगमन गर्नुपर्ने धारणा राख्नुभयो ।
बैठकमा बोल्दै सांसद केदार सिग्देलले यस्ता आयोजनाहरु समयमै सम्पन्न नहुने, गुणस्तर नपुग्ने, लागत बढ्दै जाने परिपाटी महारोगको रुपमा फैलिरहेको भन्दै चिन्ता प्रकट गर्नुभएको थियो । ‘
सांसद टेकबहादुर बस्नेतले राणा कालका विकास अहिलेसम्म डगमगाएको छैन तर अहिलेका विकास भने महिना दिन पनि नटिकेको भन्दै गुणस्तरमा ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो ।
सांसद जीपछिरिङ लामाले राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सम्पन्न गर्न आयोजनाको सम्पूर्ण काम प्याकेजमा दिनुपर्ने धारणा जिकिर गर्नुभयो । उहाँले त्यस्ता आयोजनाको बारेमा एक पटक पुन मुल्याकन नगरेसम्म विकास निर्माणको काम अघि बढ्न नसक्ने दावी गर्नुभयो ।
अर्का सांसद यज्ञराज सुनुवारले सतर्कता केन्द्र सूचना केन्द्र र अभिलेखालयको रुपमा मात्रै रहेको भन्दै प्रभावकारी रुपमा छानविन गरेर दोषी भेटिए कारबाही गर्ने हिम्मत राख्नुपर्ने धारणा राख्नु भयो ।
समिति सभापति कल्याणी खड्काले सतर्कता केन्द्रको भूमिका प्रभावकारी नभएकाले त्यसतर्फ ध्यान दिन निर्देशन दिनुभयो । पेन्सिल किन्दा पनि कमिशन खाने परिपाटी भएको अबस्थामा राष्ट्रिय गौरबका आयोजनामा कति अनियमितता भएको होला ? भन्दै सभापति खड्कालेसतर्कता केन्द्रले सबैमाथि छानवीन गर्ने शक्ति हासिल गर्नुपर्ने बताउनुभयो । सांसद गणेश पहाडीले राष्ट्रिय गौरबको आयोजनामात्रै नभई अन्य आयोजनाका काममा देखिने ढिलासुस्ती, गुणस्तरहीन कामको अबस्था डरलाग्दो रुपमा देखिएको बताउनुभयो ।
५ वर्षभित्र सम्पन्न भईसक्नु पर्ने आयोजना २०÷३० वर्ष पुग्दा समेत सम्पन्न हुन नसकेको भन्दै सतर्कता केन्द्रलाई आयोजनाको काम समयमै सम्पन्न गराउनका लागि केन्द्रलाई केले रोक्यो ? समितिले यस्का लागि कसरी सहयोग गर्नुपर्ने हो ? भन्दै खड्काले प्रश्न गर्नुभयो ।
यस्ता आयोजना सम्पन्न भईसकेपछि मात्रै अनुगमन गर्ने परिपाटीले बिग्रेको काम नबन्ने भन्दै उहाँले आयोजना सुरु भएदेखि नै लगातार अनुगमन गर्नुपर्ने धारणा राख्नुभयो ।
सांसद रामबहादुर बिष्टले अनियमितताकै कारण आयोजनाहरुको काम सुस्त हुने गरेको दावी गर्नुभयो । त्यस्तै अर्का सांसद राजेन्द्र लिङदेनले डिपिआर बनाउदा देखि नै भ्रष्टाचार हुने गरेकाले निरन्तर निगरानी गर्न केन्द्रलाई आग्रह गर्नुभयो ।
सांसद कमला रोकाले बोलपत्र आव्हान प्रकृयाले नै कम गुणस्तरको काम गर्न अभिप्रेरित गर्ने गरेको भन्दै ऐन संशोधन गरेर भएपनि त्यस्ता आयोजनाको कामलाई गुणस्तरीय बनाउनुपर्ने बताउनुभयो ।
समिति बैठकमा बोल्दै केन्द्रका सचिव विष्णु ओम वादेले अनुगमन गरेपनि बजेट अभावले यसलाई निरन्तरता दिन नसकेको बताउनुभयो ।
समितिको बैठकले राष्ट्रिय गौरबका आयोजनाहरुको गुणस्तर परीक्षण प्रतिवेदन यथाशीघ्र समितिलाई उपलब्ध गराउन केन्द्रलाई निर्देशन दिएको छ ।
समितिले चालु आर्थिक वर्षमा के कति विकास आयोजनाको प्राविधिक परीक्षण गरियो ? त्यसको विवरण समितिलाई उपलब्ध गराउन र के कस्तो कारवाहीका लागि सिफारिस गरियो सो को वितरण समेत समितिलाई उपलब्ध गराउन केन्द्रलाई निर्देशन दिएको छ ।
साथै समितिले राष्ट्रिय गौरब र अन्य विकासका आयोजनाहरुको आरम्भदेखि अन्त्यसम्म विभिन्न चरणमा प्राविधिक परीक्षण गरी निर्माण सामाग्रीहरुको समेत गुणस्तर परीक्षणको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।











प्रतिक्रिया