नेपाल समाचारपत्र, काठमाडौं
जापानले विदेशी कामदार भित्र्¥याउन नयाँ नियमावली पास गरेपछिका प्रकृया र अन्य द्विपक्षीय विषयमा छलफल गर्न सो मुलुकका विदेशमन्त्री तारो कोनो दुईदिने भ्रमणका लागि आज बुधवार नेपाल आउँदै हुनुहुन्छ ।
परराष्ट्र मन्त्रीस्तरीय भेटवार्ताका क्रममा नेपाली कामदार, द्विपक्षीय हवाई सेवा, कृषिको आधुनिकीकरण, ऊर्जा, पूर्वाधार विकासजस्ता विषयमा सम्झौता हुँदै छ । गत असार ४ मा नेपाल–जापानबीच सिधा हवाई सम्झौता भए पनि त्यसलाई यही भ्रमणमार्फत कूटनीतिक तवरमा औपचारिकता दिने तयारी गरिएको छ ।
‘हवाई सम्झौतालाई उच्चस्तरीय भ्रमणको मौका पारेर औपचारिकता दिने तयारी गरिएको छ, सम्झौता केही महिना अघि नै भइसकेको हो’ –पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपालले नेपाल समाचारपत्रसँग भन्नुभयो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उहाँका जापानी समकक्षी कोनोबीच बुधवार अपरान्ह्र हुने भेटवार्ता पश्चात द्विपक्षीय परामर्शसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुँदै छ । नेपालमा जापानी लगानी बढाउने र सो मुलुकको सहयोगमा हुने पूर्वाधार विकासबारेमा समेत द्विपक्षीय सम्झौता हुने परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए ।
विविध विषयमा सम्झौता हुने
जापानले आफ्नो मुलुकमा नेपालीसहित अन्य विदेशी कामदार लान गत पुस १० गते नयाँ नियमावली पास गरेको थियो । सोही अनुसार जापानी विदेशमन्त्री कानो नेतृत्वको टोली नेपाली कामदार लाने विस्तृत प्रक्रियाको छलफलमा समेत जुट्ने बताइएको छ । जापानले नेपालसहित चीन, इन्डोनेसिया, मंगोलिया, म्यानमार, थाइल्यान्ड, फिलिपिन्स र भियतनामबाट कामदार लाने निर्णय गरेको छ ।
फ्रान्सका उच्च अधिकारी पनि आउँदै
यसैबीच फ्रान्सका युरोप र विदेश मन्त्रालय मामिलाका महासचिव माउरिस गौरडाउल्ट मोन्टाग्ने पनि आज बुधबार नै नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ ।
नेपाल–फ्रान्सबवीच द्विपक्षीय सम्बन्ध स्थापना भएको ७०औं वर्षको अवसर पारेर उहाँ नेपाल भ्रमणमा आउने हुनुभएको हो । यो भ्रमणका क्रममा द्विपक्षीय परामर्श संयन्त्र स्थापना हुने र दुवैतर्फका उच्चस्तरीय भ्रमणको वातावरण बनाउन सघाउ पुग्ने बताइएको छ । ‘उहाँ (मोन्टाग्ने) को नेपाल भ्रमणसँगै लामो समयको अन्तरालपछि यही वर्ष (सन् २०१९) भित्र दुवै तर्फबाट उच्चस्तरीय भ्रमण हुन सक्छ’ –नेपालका लागि फ्रेन्च दूतावासका एक अधिकारीले भने ।
परराष्ट्र सचिव शंकरदास बैगागी र मोन्टाग्ने नेतृत्वको टोलीबीच बुधवार अपरान्ह्र द्विपक्षीय भेटवार्ता हुँदै छ । द्विपक्षीय सम्बन्ध स्थापना भएको ७०औं वर्षको अवसरमा संस्मरणात्मक विशेष लोगो र सद्भावना दूत पनि सार्वजनिक गर्ने तयारी गरिएको छ ।











प्रतिक्रिया