प्रजातान्त्रिक आन्दोलनका जिउँदा शहिदको निधन

0
Shares

नेपाल समाचारपत्र, लमजुङ ।
लमजुङमा प्रजातान्त्रिक आन्दोलनका एक योद्धाको निधन भएको छ । २०३६ सालमा स्याङ्जामा भएको गोलीकाण्डमा खुट्टा गुमाउनु भएका प्रजातान्त्रिक आन्दोलनका सशक्त योद्धा तारानाथ कोइरालाको ७५ वर्षको उमेरमा मंगलबार निधन भएको हो ।

प्रेसर र सुगरको औषधि सेवान गरिरहनु भएका कोइरालालाई पछिल्लो समय पेटको समस्या सिर्जना भई गत शुक्रबार मणिपाल शिक्षण अस्पताल पोखरामा भर्ना भएर उपचाररत हुनुहुन्थ्यो । उपचारका क्रममा सोही अस्पतालमा उहाँको निधन भएको हो ।

तारानाथ कोइराला २०१७ सालपछि नेपाली काँग्रेसको संगठन निर्माण गर्ने क्रममा नेतृत्व गर्नु भई जिल्लामा नेपाली काँग्रेसको संगठन गर्ने अग्रणी व्यक्तित्व हुनुहुन्छ । उहाँ जिल्लामा तरुण दलको संस्थापक अध्यक्ष हुनुका साथै २०३६ असोज पहिलो साता स्याङ्जाको राङ्खोलामा नेपाली कांग्रेसले आमसभामा बीपी कोइराला सहभागी हुने भएपछि सो आमसभा भाँड्न चलाइएको गोली लागेर तारानाथको एक खुट्टा गुमाउनु भएको थियो । पछिल्लाmे समयमा काँग्रेसले ज्यूदा शहीदको उपमा समेत उहाँलाई दिने गरेको थियो ।

लमजुङको कोइरालाफाँटमा जन्मिनु भएका तारानाथ त्यहाँबाट बसाईं सरेर हाल लमजुङकै मध्यनेपाल नगरपालिका– ४ को दुईपिप्लेमा स्थायी बसोबास गर्दै आउनु भएको थियो । कांग्रेसले तारानाथलाई ‘प्रजातन्त्र सेनानी’को सम्मान दिएको थियो ।

कोइरालाको आजै उहाँको निवास नजिक रहेको मादी र रिस्ती नदीको संगम स्थलमा अन्तेष्टी गरिएको छ । कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य दिलबहादुर घर्ती, पूर्वराज्यमन्त्री रामबहादुर गुरुङ आर्यघाटमा पनि पुग्नु भएको थियो । त्यसैगरी, काँगे्रसका जिल्ला सभापति भेषबहादुर पौडेल, जिल्ला सचिव हरिप्रसाद बराल, पूर्व जिल्ला सभापतिरू शंकरकान्त जोशी, तुलसीनारायण श्रेष्ठ, कृष्ण कोइराला, मध्यनेपाल नगरपालिकाका मेयर रमेश पाण्डे सहितको उपस्थिति थियो ।
स्वर्गीय कोइरालाका श्रीमती, चार छोरी र एक छोरा छन् ।