सरिता चलाउने, सल्यान ।
सल्यानको त्रिवेणी गाउँपालिकाको भवन निर्माणको लागि स्थानीयले जग्गा दान गरेका छन । भाडामा सञ्चालन भईरहेको गाउँपालिकालाई स्थानियले ५ रोपनि जग्गा दान दिएका हुन् । त्रिवेणी ६ लुहाम निवासि रेमु श्रेष्ठ, दिवाकरराज श्रेष्ठ, ड्रम्बर शाह, कर्णबहादुर श्रेष्ठ र कमल केसीले मालपोत कार्यालयबाट गाउँपालिकाको नाममा जग्गा पास गरिदिएका हुन् ।
भाडाको भवनमा सञ्चालन भईरहेको गाउँपालिकालाई सेवा प्रवाहमा असहजता भएकाले सामाजिक भावना अनुसार जग्गा दान गरिएको डम्बर शाहले जनाए । ‘गाउँपालिकाको आफ्नै भवन होस् । सेवाग्राहिले सरल तरिकाले सेवा पाउन सकुन् भन्ने हाम्रो चाहना छ,’ उनले भने ।
२५ लाख बराबरको ५ रोपनी जग्गा दान प्राप्त भएपछि गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले खुसि व्यक्त गर्दै ५ जना दानविरले गाउँपालिकालाई ठूलो गुण लगाएको बताएका छन् । उनले भने, ‘जग्गा अभावमा गाउँपालिकाको भवन बनाउन समस्या भईरहेको अवस्थामा अब भने सहज भएको छ ।’
जीवनमा केहि गरौँ भन्ने भावना अनुसार गाउँपालिकालाई जग्गा दान दिएको जनाउँदै दान दाता रेमु श्रेष्ठले गाउँपालिकाले उक्त जग्गालाई उपयोग गरेमा सबै पालिकाबासीको हित हुने विश्वास व्यक्त गरे ।
त्रिवेणी गाउँपालिकाले अब थप ५ रोपनी जग्गाको व्यवस्था गरेर भवन निर्माण कार्य अगाडी बढाईने बताएको छ । प्रमुख प्रशासकिय अधिकृत रेमन्त डाँगीले यस वर्ष दान प्राप्त भएको जग्गाको माटो परिक्षण तथा डिजाईन स्टीमेट गर्ने र अर्काे वर्षदेखि भवन निर्माण कार्य थालनी गर्ने जानकारि गराए । ‘अर्काे वर्ष भवन निर्माणका लागि बजेटको व्यवस्था हुन्छ,’ उनले भने, ‘भवन निर्माणपछि गाउँकार्यापालिका सहित विषयगत कार्यालय कुनै पनि भाडामा सञ्चालन हुनुपर्ने छैन ।’ अहिले गाउँकार्यपालिका, विषयगत कार्यालय तथा वडा कार्यालयहरुको भाडा वापत वार्षिक १२ लाख रुपैयाँ खर्च भईरहेको डाँगीले बताए ।











प्रतिक्रिया