विनोद सिंह विष्ट, बैतडी ।
स्थानीय तहमा जनप्रतिनिधि आएको डेढ बर्ष भईसकको भएपनि कर्मचारीको भने अभावै रहेको पाइएको छ । बैतडीका दशओटै स्थानीय तहका ४८ वडा तहमा सचिव नहुँदा प्राविधिक सहायकहरुले सचिवको काम गरिरहेका स्थानीय तहहरुले जनाएका छन् ।
वडामा सचिवमा नहुँदा पञ्जिकरण लगायतका कामहरु प्रभावित हुने गरेका जनप्रतिनिधिहरुले बताएका छन् । जिल्लाको शिवनाथ गाउँपालिकाका ६ ओटै वडामा सचिवको काम प्राविधिक सहायकले गरिरहेका गाउँपालिकाकी उपाध्यक्ष कुष्मा चन्दले जानकारी दिईन् । उनले भनिन्“सचिवको अभावमा वडाले गर्नुपर्ने काममा बाधा पुगेको ।”
८ वडा रहेको सुर्नया गाउँपालिकाका ३ वडामा सचिव छैनन्। वडा नं१,७ र ८ मा सचिव नहुँदा एकजना सचिवले दुई दुई वडामा काम गर्नुपरीरहेको छ । दुर्गम गाउँपालिकाको रुपमा रहेको सिगास गाउँपालिकाका ७ ओटा वडा सचिव विहिन रहेका गाउँपालिकाले जनाएको छ ।
पाटन नगरपालिकाको वडा नं ७ र ८ मा सचिव छैनन् भने दशरथचन्द नगरपालिकाकाको पनि वडा नं ६ र ११ मा सचिव नभएका हुन् ।
मेलौली नगरपालिकाका ९ वडा मध्ये ५ वडामा सचिव नभएका नगरपालिकाका उपप्रमुख राधा ओझाले बताईन् । पञ्चेश्वर गाउँपालिकाका ६ ओटै वडामा सचिव नहुँदा प्राविधिक सहायकले सचिवको काम गरिरहेका छन् ।
१० वडा रहेको पुर्चौंडी नगरपालिकामा एक वडा बाहेक अन्यमा सचिव छैनन् । दोगडाकेदार गाउँपालिकाका ४ वडा सचिवविहिन छन् भने भएका सचिवहरुले पनि गाउँपालिकामा काम गर्नुपरेको छ । गाउँपालिकामा कर्मचारी नहुँदा सचिवहरुलाई गाउँपालिकामै राख्नुपर्ने अवस्था आएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए ।
यसैगरी डिलाशैनी गाउँपालिकाका ७ वडा मध्ये ४ वडा सचिवविहिन रहेका छन् ।
बैतडीमा ४ नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तह रहेका छन् । १० स्थानीय तहका ८४ वडा रहेका छन् ।











प्रतिक्रिया