लागूऔषधसहित विभिन्न व्यक्ति पक्राउ

0
Shares

काठमाडौं, (नेस) ।

प्रहरीले काठमाडौंसहित विभिन्न जिल्लाका विभिन्न व्यक्तिलाई अवैध लागूऔषधसहित पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो दुई बजे रौतहट राजपुर नगरपालिका ४ घर भई काठमाडौँ महानगरपालिका १४ लामपाटी बस्ने २२ वर्षीय पवन कुमार साहलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार कोठा खानतलासी गर्ने क्रममा निज पवनले बेडमुनी लुकाइराखेको नाइट्रोभेट ५०७ ट्याब्लेट, डाईजोपाम ८ एम्पुल,नुरफिन ८ एम्पुल र फेनारगन ८ एम्पुल फेला पारेको थियो ।

यस्तै प्रहरीले सोही घटनामा रौतहट राजपुर नगरपालिका ६ का २४ वर्षीय सम्साद आलमलाई नाइट्रोभेट ३० ट्याब्लेट, डाईजोपाम १ एम्पुल,नुरफिन १ एम्पुल र फेनारगन १ एम्पुलसहित पक्राउ गरेको छ ।

यस्तै काठमाडौं महानगरपालिका–४ सुकेधारास्थित टोखा नगरपालिका–६ धापासी बस्ने ३० वर्षीय तीर्थनाथ उपाध्याय, काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने ३५ वर्षीय धर्मराज लामा र काठमाडौं महानगरपालिका–३ पानीपोखरी बस्ने २३ वर्षीय पराग कार्की सोमबार विहान लागूऔषध ओसारपसार गरेको अभियोगमा पक्राउ परेका छन् ।

उनीहरूलाई लागूऔषध ब्राउनसुगर अन्दाजी १० ग्राम, चरेश अन्दाजी १० ग्राम, चक्कु २ थान तथा लागूऔषध सेवन गर्न प्रयोग हुने बिभिन्न किसिमका सामानहरुसहित सोमबार समातिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी बृत्त महाराजगंजबाट खटिएको प्रहरीले बा.७७ प ९९०६ र बा.९२ प १८२० नम्बरका स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा राखेको उक्त लागूऔषध तथा ४ लाख ७३ हजार १ सय नेपाली रुपैयाँ, १ हजार ४ सय भारतीय रुपैयाँ, २० रुपैयाँ अमेरिकी डलर, नेपाल बैंक लिमिटेडको १ लाखको चेक १ थान र डिजिटल क्यामेरा १ थानसहित पक्रेको छ ।

साथै, काठमाडौं, शंकरापुर नगरपालिका–४ धुले बस्ने ४५ वर्षीय तुनुक दोर्जे लामालाई अवैध लागूऔषध गाँजा करिब २ केजी सहित आइतबार राति पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनको घर खानतलासी गर्दा उक्त लागूऔषधसहित पक्रेको हो ।

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले धनुषा लक्ष्मीनिया गाउँपालिका–८ का १९ वर्षीय अंकितकुमार झालाई लागूऔषध नाइट्राभेट ३ सय ४५ एम्पुलसहित आइतबार साँझ काठमाडौं महानगरपालिका–३२ बाट पक्रेको प्रहरीले जनाएको छ ।

सर्लाही पर्सा गाउँपालिकाका १९ वर्षीय सुनिल झा नाइट्रोभेट४७ एम्पुल तथा स्टाच १६ थानसहित काठमाडौं चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट पक्राउ परेका छन् । बर्दिया मधुवन गाउँपालिकाका २९ वर्षीय सुरेश लामिछाने ब्राउन सुगर ४ ग्रामसहित सोमबार पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले सवारी जाँच गर्ने क्रममा काठमाडौँतर्फ आउँदै गरेको ना. ५ ख ४१९१ नम्बरको बसमा सवार सुनिल र ना. ७ ख २७७६ नम्बरको बसमा सवार सुरेशलाई लुकाईछिपाई ल्याउँदै गरेको उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।