टेलिकमका ग्राहकको चाहनालाई सम्बोधन गरिने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सोमबार पदभार ग्रहण गर्नुभयो । उहाँलाई सरकारले पुस १९ गते तीन वर्षका लागि प्रबन्ध निर्देशक पदमा नियुक्त गरेको थियो ।

पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक अधिकारीले आफ्नो व्यावसायिक कार्य योजनाको मँल्यांकनको आधारमा नेपाल टेलिकमको प्रबन्ध निर्देशकको गहन जिम्मेवारी बहन गर्ने अवसर दिएकोमा सरकारप्रति आभार प्रकट गर्नुभयो ।

सो अवसरमा उहाँले प्रविधिको विकास र बजारको प्रतिस्पर्धा तथा समयमा परियोजना अगाडि बढ्न नसक्दा कम्पनीको सेवा प्रवाह, गुणस्तर र राजस्व वृद्धिमा देखिएको चुनौतीलाई सामना गर्दैै अगाडि बढ्न कर्मचारीलाई निर्देशन गर्नुभयो । उहाँले काममा ढिलासुस्ती, अधिकारको दुरुपयोग, भ्रष्टाचार तथा आर्थिक अनियमितता जस्ता कुरामा कसैसँग सम्झौता नगरिने बताउनुभयो ।

उहाँले परिवर्तनशील प्रविधि र ग्राहकको माग तथा चाहनामा हुने परिवर्तनलाई समयानुकुल सम्बोधन गर्दै लैजाने, ब्याकबोन नेटवर्कलाई भरपर्दो र गुणस्तरीय बनाइने, फोरजी परियोजनालाई समयमा सम्पन्न गरिने, १ करोड लाइन क्षमताको टुजी र थ्रीजी परियोजनालाई यथाशीघ्र सम्पन्न गरिने, मोबाइल डाटाको प्रयोग बढाउनका लागि कार्यक्रम ल्याइने, एफटीटीएच सेवालाई मुख्य शहर तथा पकेट क्षेत्रमा विस्तार गरिने र कपर नेटवर्कलाई प्रतिस्थापन गरिने बताउनुभयो ।

त्यसैगरी कर्पोरेट र इन्टरप्राइज बिजनेसलाई विशेष जोड दिइने, मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्क तयार गर्ने कार्यमा शीघ्रता ल्याइने र मोबाइल फाइनान्सियल सेवा तथा आईपी टीभी सेवालाई उच्च प्राथमिकतामा राखी कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रबन्ध निर्देशक अधिकारी यसअघि प्रबन्ध निर्देशकको कार्यालयमा प्रबन्धक पदमा कार्यरत हुनुहुन्थ्यो । उहाँ तत्कालीन नेपाल दँरसञ्चार संस्थानमा २०५९ फागुन २२ गते टेलिकम इन्जिनियर पदमा प्रवेश गर्नुभएको थियो । उहाँ २०६५ मा वरिष्ठ इन्जिनियर, २०७० मा उपप्रबन्धक र २०७५ वैशाख १६ गतेदेखि प्रबन्धक पदमा कार्यरत हुनुहुन्थ्यो ।

यस बीचमा उहाँ कम्पनीका विभिन्न निर्देशनालय र विभागहरुमा कार्यरत हुनुहुन्थ्यो । उहाँमा एक्सेस नेटवर्क, ट्रान्समिसन नेटवर्क, वायरलेस ब्रोडब्यान्ड एक्सेस, अन्तर्राष्ट्रिय व्यापार, ब्याकबोन ट्रान्समिसन आदि क्षेत्रको साथै कम्पनीको सह–प्रवक्ता र नोडल अधिकृत समेतको कार्य अनुभव रहेको छ ।

उहाँले २०६२ मा पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट इन्फर्मेसन एन्ड कम्युनिकेसन इन्जिनियरिङमा विशिष्ट श्रेणीमा एमएस्सी गर्नुभएको हो । त्यसैगरी २०५८ मा पुल्चोक क्याम्पसबाटै इलेक्ट्रोनिक्स इन्जिनियरिङमा विशिष्ट श्रेणीमा बीई गर्नुभएको थियो ।

उहाँका टेलिकम सेवा, पँर्वाधार, चुनौती र भविष्यका रणनीति आदि विषयमा विभिन्न लेखसमेत प्रकाशित भएका छन् ।