इन्धन भर्ने व्यवस्था भए राजविराजमा बुद्ध एयरले उडान गर्ने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
बुद्ध एयरले आगामी फागुन १७ गतेबाट राजविराजमा उडान भर्ने भएको छ ।
राजविराज उडान भर्नको लागि इन्धनको व्यवस्था राजविराज विमानस्थलमा गर्नुपर्नेतर्फ कम्पनीले सरकारको ध्यानकर्षण गराएको छ ।

इन्धन ट्यांकरको व्यवस्था विमानस्थलमा गरेमा फागुन १७ गतेबाट उडान भर्न सकिने बुद्ध एयरद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । बुद्ध एयरले प्रदेश नम्बर २ का दुई विमानस्थलमा डेढ दशकभन्दा बढी समयदेखि उडान भर्दै आएको छ ।

हाल प्रदेश नम्बर २ को जनकपुर र सिमरमाा उडान गरिरहेको कम्पनीले आंशिकरुपमा मात्र सञ्चालनमा रहेको राजविराज विमानस्थलमा उडान भर्ने तयारी गरेको हो । यथोचित व्यवस्था गरिदिन प्रदेश नम्बर २ का मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराएको कम्पनीले जनाएको छ ।

पछिल्लो समय विमानस्थलको स्तरोन्नति भए पनि विभिन्न कारणले यसमा नियमित उडान सञ्चालन हुन सकेको छैन । उडान नियमित गर्न इन्धनको अभावले यो विमानस्थलमा ठँला विमान कम्पनीहरूले सेवा प्रदान गर्न नसकिरहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । यो क्षेत्रमा उडान नियमित गर्नसके दक्षिण सीमावर्ती भारतीय पर्यटक र उत्तर पहाडी, हिमाली भेगका जनतालाई अति नै उपयोगी सावित हुने जनाइएको छ ।

जनकपुर र विराटनगरको बीचमा रहेको राजविराज विमानस्थलमा उडान सुचारु भए यस क्षेत्रका जनताले उल्लेख्य लाभ लिने छन् ।

जनकपुर विमानस्थलमा समेत रात्रीकालीन उडानको सुविधा नभएको हुनाले बुद्ध एयरले मागअनुसारको उडान सञ्चालन गर्न नसकेको जनाएको छ । उसले सिमरा विमानस्थलमा इन्धनको व्यवस्था भए व्यापारिक नाका वीरगन्जमा ओहोरदोहोर गर्ने व्यापारी वर्गलाई समेत पायक पर्ने गरी उडान थप्ने जनाएको छ ।