धनवीर दाहाल, रुकुम ।
जिल्लाको त्रिवेणी गाउँपालिकामा सामाजिक जवाफदेहिताका औजारहरुको बिषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मानवअधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र – हरप्लेस नेपालले गाउँपालिकाका उपाध्यक्ष, कार्यपालिका सदस्य एवम् वडा अध्यक्ष, कर्मचारी तथा अन्य सरोकारवालाहरुलाहरुका लागि अभिमुखिकरण गरेको हो ।
कार्यक्रममा सामाजिक जवाफदेहिताका औजारहरु सार्वजनिक सुनुवाई, सार्वजनिक परीक्षण, समुदाय अंकपत्र, सार्वजनिक खर्च पछ्याई, सहभागितामूलक बजेट विश्लेषण र सूचनाको हकको बारेमा सहभागिहरुलाई जानकारी गराइएको थियो । स्थानीय तहमा आएको अधिकारको सदुपयोग गर्दै कार्यान्वयन गर्न तथा समग्र सेवा प्रवाहमा सुशासन कायम गर्नका लागि सबैको जवाफदेहिता हुनुपर्ने कार्यक्रममा जोड दिईएको थियो ।
अभिमुखीकरणमा बोल्दै त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष निर्मला विष्टले अभिमुखीकरणबाट सामाजिक जवाफदेहिताको अवधारणाबारे जानकारी भएको र यसका औजारहरु प्रयोग गर्दै सुशासन कायम गर्न पहल गरिने बताईन् । यस्ता औजारहरुको बिषयमा आगामि दिनमा जनप्रतिनिधी र कर्माचारिलाई विस्तृतमा तालिम नै आयोजना गर्नुपर्नेमा उनको जोड थियो ।कर्मचारीलाई समेत राखेर बृहत तालिमको समेत आयोजना गर्न आवश्यक रहेको उहाँको भनाई छ ।
नागरिकहरुलाई सहज रुपमा सेवा प्रवाह गर्न र अहिलेसम्म भए गरेका कामको जानकारी तथा गुनासा समेत सुनुवाई गर्न गाउँपालिकाका सबै वडामा नियमित रुपमा सार्वजनिक सुनुवाईको आयोजना गर्नुे बिषयमा कार्यक्रमका सहभागीले सामुहिक प्रतिवद्धता समेत जनाएका थिए ।
त्रिवेणी गाउँपालिकामा विगत दुई वर्षदेखि हरप्लेस नेपालले पारस्परिक जवाफदेहिता परियोजना मार्फत सुशासन र जवाफदेहिता सम्बन्धी काम गरिहेको हरप्लेस नेपाल रुकुम पश्चिमका जिल्ला कार्यक्रम संयोजक सुरेन्द्र खत्रीले जानकारी दिए ।











प्रतिक्रिया