नाट्य प्रतिष्ठानमा नृत्यकर्मी समेट्न माग

0
Shares

लामो समयदेखि रिक्त रहेको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा सरकारले हालै गरेको नियुक्तिप्रति नेपाल चलचित्र नृत्य संघले आपत्ति जनाएको छ।

संघका अध्यक्ष वसन्त श्रेष्ठले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा कुलपति, उपकुलपति सदस्य सचिवसहित कुल ६ जना प्राज्ञ परिषद् सदस्यमा १ जना पनि नृत्य प्राज्ञ नराखेकामा आपत्ति जनाइएको छ।

‘पछिल्लो समय नृत्यले व्यावसायिक रूप धारणा गरिसकेको अवस्थामा यसको विकास, पहिचान र संरक्षणको पहलकदमी गर्नुपर्नेमा नृत्य क्षेत्र नै ओझेलमा पर्ने गरी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा गरिएको नियुक्तिले सम्पूर्ण नृत्यविज्ञ, नृत्यकर्मी तथा नृत्यप्रेमीहरूले अपमान बोध गरेका छौं’, अध्यक्ष श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘जुन क्षेत्रको विकास र उत्थानका लागि स्थापना गरिएको संस्था हो, त्यससम्बन्धी विज्ञको साटो राजनैतिक अभीष्ट पूरा गर्न चम्चा प्रवृत्तिको नियुक्तिले नृत्य क्षेत्रको विकास हुन सक्दैन।’ विज्ञप्तिमा यसबाट नृत्य क्षेत्रको घोर अपमान भएको ठहर गरी तत्काल आफ्नो कमद सच्याउ“दै कुलपति, उपकुलपति, सदस्य वा प्राज्ञ परिषद् सदस्यको पुनर्नियुक्तिको माग गरिएको छ।

सरकारले पुनर्नियुक्ति गर्न नसकेको खण्डमा समग्र नृत्यकर्मीको आत्मसम्मान र प्रतिष्ठा बढाउने खालको स्वायत्त नेपाल नृत्य प्रज्ञा प्रतिष्ठानको गठन गर्नुपर्ने माग पनि विज्ञप्तिमा गरिएको छ। विज्ञप्तिमा सरकारले गरेको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको नियुक्तिले समग्र नृत्यकर्मीहरूको मनोबल गिराउने काम भएकाले यस कदमको घोर भत्र्सना गरिएको उल्लेख छ।