भद्रपुर, (नेस)
तीनदिन भित्रमा टेलिफोन सेवा सुचारु नभए टेलिफोन लाइन कट्टा गरी दूरसञ्चार कार्यालयको सेवा वहिष्कार गर्ने सेवाग्राहीले चेतावनी दिएका छन् । झापाको भद्रपुर ८ र ९ कारागार पूर्वका १६ घर परिवारले आइतबार दूरसञ्चार कार्यालय भद्रपुर स्थित चन्द्रगढीमा ध्यानाकर्षण पत्र बुझाउदै यस्तो चेतावनी दिएका हुन् ।
सडक विस्तार गर्ने क्रममा नेपाल विद्युत् प्राधिकरणले विजुलीको खम्बा सार्दा टेलिफोनका तारहरु सडकमा झारेका कारण पुस २ गतेबाट इन्टरनेट र ल्याण्लाइन सेवा पूर्णरुपमा अबरुद्ध पारी सेवाबाट वञ्चित गराएको पत्रमा उल्लेख गरिएको छ । यति लामो समयसम्म सेवा अबरुद्ध हुदाँसमेत दूरसञ्चार कार्यालयले कुनै चासो नदिएकोले सेवाग्राहीले पत्रमा गुनासो गरेका छन् ।
व्यत्तिगत रुपमा कार्यलयमा पटक–पटक जानकारी गराउँदा समेत गैर जिम्मेवारी जवाफ दिएको पत्रमा उल्लेख गरिएको छ । तीन दिन भित्रमा मर्मत गरी सेवा सुचारु नभएमा जस्तोसुकै पनि कदम चाल्न बाध्य हुने सेवाग्राहीले जनाएका छन् । सेवाबाट वञ्चित परिवारले अबरुद्ध भएको अवधिको रकम समेत नतिर्ने जनाएका छन् ।
सेवाग्राही रमेश पोखरेल ,महेन्द्र खतिवडा ,महेश भट्टराइ,अप्सरा आचार्य सहित १६ जनाले लिखित सहिछाप गरी दूरसञ्चार कार्यालय चन्द्रगढीका निमीत्त कार्यालय प्रमुख गोमा काप्mलेलाइ ध्यानाकर्षण पत्र वुझाएका थिए । काफ्लेले पत्रलाइ विर्तामोड कार्यालयमा तत्काल पठाइने आश्वासन दिएकी थिइन् । पत्रमा सम्बन्धीत निकायलाइ समेत बोद्धार्थ दिइएको छ । सडक विस्तारको क्रममा टेलिफोनसँगै खानेपानीका पाइप,धुलो भद्रपुरका अधिकांश क्षेत्रमा समस्या देखिएको छ ।











प्रतिक्रिया