दुई तिहाइको सरकारले सन्तुष्टि दिन सक्नुपर्छ: प्रचण्ड

0
Shares

यमलाल भुसाल, बुटवल
नेकपाका अध्यक्ष तथा पुर्वप्रधान मन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमतको सम्मान्न गर्न नसकिए जनताको जनमत सधै एकै स्थानमा नरहने बताउनु भयो । दुई तिहाइको बर्तमान सरकारले जनतालाई परिणाममा सन्तुष्टि दिन जरुरी रहेको छ भन्दै अध्यक्ष प्रचण्डले जनताका चाहना, इच्छा र आकांक्षा पुरा गर्न नसके प्रतिक्रान्तिका शक्तिले जनमतको साथ पाउने धारणा समेत राख्नुभयो ।

बरिष्ठ पत्रकार कर्ण बहादुर कार्कीले प्रकाशित गर्नुभएको पाक्षिक म्यागेजिन लोक अभियानको आइतवार बुटवलमा बिमोचन गर्दै अध्यक्ष प्रचण्डले मुलुकलाई समाजवादको नयाँ युगमा डोराउने अवसरका रुपमा सरकारले काम अगाडी बढाउन जरुरी रहेको पनि बताउनु भयो । दुई तिहाइको घमण्ड गरी जनताका कुरा सुन्न छाडियो भने जनमतले कोल्टे फेर्न समय नलाग्ने भन्दै उहाँले नेकपा र सरकारलाई अहिले अवसर र चुनौती दुवै रहेको औल्याउनुभयो ।

पूर्व प्रधानमन्त्री प्रचण्डले अहिले विश्वमै कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा अगाडी बढेको समेत बताउनु भयो । दोश्रो विश्वयुद्वको समयमा आक्रमक अवस्थामा रहेको विश्व कम्युनिष्ट आन्दोलन अहिले आएर रक्षात्मक अवस्थावाट अगाडी बढेको उहाँले बताउनु भयो । कम्युनिष्टका बिरुद्व प्रतिक्रान्ति शक्ति लागि परेकाले पनि अब नेपालमा कम्युनिस्ट शक्ति एकताबद्ध हुन जरुरी रहेको उहााको कथन थियो । नेपालमा कम्युनिष्टहरुलाई स्थापित हुन नदिन देश भित्र र बाहिरबाट प्रतिक्रान्ति शक्तिहरुले प्रयत्न गरिरहेको दावी गरे ।

कम्युनिष्ट आन्दोलनलाई भ्रमित पारेर जनतालाई भड्काउने काम भइरहेकाले त्यसका विरुद्व जनमत तयार गर्न पत्रकारिताको भूमिका महत्व पूर्ण हुने भनदै उहाँले हिजो गुमेको जनमत फर्काउन प्रतिक्रान्तिको कोसिसलाई उल्टाउनु नेकपाको काधमा ठुलो जिम्मेवारी रहेको बताउनु भयो ।

जनयुद्व र जनआन्दोलनबाट प्राप्त उपलब्धीलाई रक्षा गर्दैै उपलब्धीलाई टेकेर कम्युनिष्ट व्यवस्थालाई टिकाउन अगाडी बढन् जनमत तयार गर्नुपर्ने बताउनु भयो । समाजबादको नयां युगमा जाने अवसरलाई गुमाउन नहुने अध्यक्ष प्रचण्डको भनाइ थियो ।

पुरानो संरचनालाई भत्कायर नयां व्यवस्था शुरु भएको उल्लेख गर्दै संघीय गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीतालाई बचाउनु नै नयां उपलब्धी हुनेकुरामा उहाँले जोड दिनु भयो । जनताको पक्षमा जनमत निर्माण गर्नका लागि पत्रकारिता औजार बन्नु पर्ने बताउंदै उहाँले पत्रकारिता पार्टी र सरकारलाई सच्चाउने, सचेत गराउने मेशिन बन्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा लोक अभियान पत्रिकाका प्रकाशक तथा सम्पादक कर्णबहादुर कार्कीले प्रतिपक्षको भूमिकामा पत्रकारिताको विकास गर्ने सोंचले आफु पत्रकारितामा पुन ः फर्केर पत्रिका प्रकाशन शुरु गरेको बताउनु भयो । कार्यक्रममा पदम बहादुर कार्की लेखक तथा साहित्यकार दिल साहनीले पत्रकारिता निडर र निष्पक्ष हुनुपर्ने बताउनु भयो ।