पोषणगृह व्यवस्थित नहुँदा वर्षेनी बजेट फिर्ता

0
Shares

नेपाल समाचारपत्र, पर्वत ।
पर्वत जिल्ला अस्पतालमा सञ्चालित बालबालिकाको पोषण सुधार गृहमा बर्षेनी आउने बजेट फ्रिज भएर जान थालेको छ ।
जिल्ला अस्पतालमा सञ्चालित पोषण सुधारगृह व्यवस्थित रुपमा सञ्चालन नहुँदा बजेट फिर्ता हुने गरेको हो । पोषणगृहमा आउने बालबालिकाको संख्या समेत कम हुँदै जान थालेपछि बजेट पनि फिर्ता भैरहेको छ ।

पर्वत र आसपासका जिल्लाका बालबालिकाको पोषणको अवस्थामा सुधार ल्याउन २०६७ वैशाखमा स्थापना भएको पोषण पुनस्स्थापना गृहमा यो वर्ष २२ लाख ५० हजार रुपैयाँ बजेट अख्तियारी आएको छ । गत वर्ष २० लाख बजेट आएकोमा ९ लाख रुपैयाँ फिर्ता भएको थियो । पोषणगृहमा कार्यरत कर्मचारीका अनुसार विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार तौल र स्वस्थ बच्चा नभए पोषणगृहमा ल्याउन सिफारिस गरिन्छ । पोषणगृहमा बच्चा ल्याइसकेपछि कम्तीमा दुई हप्तादेखि दुई महिनासम्म राख्नुपर्छ । तर, यहाँ आउने अभिभावक भोलिपल्टै पनि फिर्ता हुने गरेका छन् । ‘अलि लामो समय बस्ने भनेर गएकी थिएँ,’ सेवाग्राही लक्ष्मी सापकोटाले भनिन् ‘बच्चालाई खुवाउने दूध सकियो भनेपछि घर फर्किएँ ।’ पछि घरायसी कामको व्यवस्ततताले गर्दा बच्चा लिएर पुनः जान नपाएको उनले बताइन् ।

अर्की अभिभावक प्रतिभा लामिछानेले पोषणगृहमा गएको तीन दिनमै फर्किएको बताइन्। ‘लगेर डाक्टरले भनेको जस्तो पोषिलो खानेकुरा खुवाउन पाइने भए पो धेरै दिन अडिनु,’ उनले भनिन् ‘त्योबेला तीन दिनमै आइयो, पछि जाने भनेको जानै पाइएन ।’ पोषणगृह ल्याइएका बालबालिकालाई खुवाउन २७ वटा खाद्यतत्व भएको दूध पर्याप्त हुनुपर्छ । तर, यहाँ बालबालिका आएको समयमै दूध पर्याप्त नभएपछि फिर्ता हुनुपर्ने बाध्यता परेको अभिभावकको गुनासो छ ।

साबिकको जिल्ला अस्पताल अहिले नगरपालिकाको क्षेत्राधिकारभित्र परेको छ । नगर स्वास्थ्य संयोजक उमाकान्त सापकोटाले पोषणगृहको सञ्चालनमा विगतमा भन्दा अहिले सुधार आएको दाबी गरे । ‘विगतमा प्रचारप्रसार नभएर केही कमजोरी भएकै हो,’ उनले भने, ‘अहिले हामीले धेरै प्रचार गरेका छौं । यो वर्ष सेवाग्राहीको संख्या ६० पुर्याउने लक्ष्य छ ।’
चालु आर्थिक वर्षमा हालसम्म २३ बालबालिकाले सेवा लिएको उनले दाबी गरे । विगतमा भन्दा यो वर्ष पोषणगृह सञ्चालन खर्चमा समेत वृद्धि भएका कारण सबै स्थानीय तहस्तरमा प्रचार अभियान सञ्चालन गरेर कुपोषित बालबालिकाको गृहमा आउने संख्या बढाइने उनले बताए । यहाँको पोषणगृहमा एक पटकमा ५ जना बच्चा र तिनका अभिभावक बस्न मिल्ने व्यवस्था छ ।