हेटौंडा ।
वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले बालबालिकाको कला तथा रुचिलाई अभिभावकले बुझ्नुपर्ने बताएका छन् ।
शनिबार नवोदय शिशु सदन विद्यालयले हेटौंडा उपमहानगरपालिका तथा काठमाडौं पब्लिकेशनको सहकार्यमा गरेको हेटौंडा बालसाहित्य महोत्सव उद्घाटन गर्दै श्रेष्ठले बालबालिकाकाको मनसायमा ठेस नपु¥याउने किसिमले अभिभावकले कदम अघि बढाउनुपर्नेमा जोड दिए । पढ्न जबर्जस्ती नगर्न सुझाउँदै श्रेष्ठले उनीहरुको व्यक्तिगत इच्छा र चाहनामा बढी ध्यान दिनुपर्ने बताए । बालसाहित्य महोत्सवमा चर्चित हास्यकलाकार तथा लेखक श्रेष्ठले बालबालिकालाई मनोविज्ञान बाल साहित्यका आफ्ना विचार राखेका थिए ।
लेखक सुबिन भट्टराईले बाल मनोविज्ञान वृद्धि हुने कार्यक्रमले बालबालिकाको व्यक्तित्व विकासमा सहयोग पुग्ने बताए । हेटौंडा उपमहानगर प्रमुख हरिबहादुर महतले महोत्सव हेटौंडाको गौरवमय कार्यक्रम रहेको बताउँदै कार्यक्रमलाई संस्थागत हिसाबले लैजाने बताए ।
युवा लेखक सुविन भट्टराईले लेखनकार्य गर्दा सुरुमा पाठक भइयो भने राम्रो लेखक बन्न सकिने बताए । आफूले गरेका संघर्षबारे बताएका थिए । महोत्सवमा सांगीतिक प्रस्तुति र किताबका स्टल छन् । करिब २० वटा कार्यशाला रहेको महोत्सवमा शनिबार १० वटा प्रदर्शनी गरिएको थियो ।
पहिलो पटक हेटौंडामा भएको बालसाहित्य महोत्सवमा कार्यशाला, लेखकबाट कथावाचन, पुतली प्रदर्शनी, पुस्तक प्रदर्शनी र स्टेज कार्यक्रम गरिएको छ । कलाकार तथा गायक यमन श्रेष्ठले गीत प्रस्तुत गरेका थिए ।
नवोदय शिशु सदनका विद्यालय व्यबस्थापन समिति अध्यक्ष पुरनबहादुर जोशीको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा थाहानगर प्रमुख लवशेर बिष्ट, विद्यालयकी प्रिन्सिपल शकुन्तला जोशी र मकवानपुरका अग्रज साहित्यकारको उपस्थिति थियो । मकवानपुरका विभिन्न संस्थागत तथा सामुदायिक विद्यालयका करिब पाँच हजार विद्यार्थी तथा अभिभावकको कार्यक्रममा उपस्थिति थियो ।











प्रतिक्रिया