विमल बिष्ट, डोटी ।
यहि पुस १३ गते मात्रै डोटीको जोरायल गाउँपालिकामा हस्तान्तरित एम्बुलेन्स विवादित बनेको छ । बिबादका कारण अहिले उक्त एम्बुलेन्स थन्किएको छ ।
जोरायल गाउँपालिका ५ गड्सेरा घर भई हाल अमेरीका बस्दै आउनु भएका नेपाली कांग्रेसका आमन्त्रीत केन्द्रिय सदस्य आनन्द बिष्टले जोरायलको प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको एम्बुलेन्समा राजनीतिकरण भएको भन्दै विवादमा परेको हो । एम्बुलेन्स गाउँपालिकालाई नै हस्तान्तरण गर्ने कार्यक्रममा स्थानीय सरकार प्रमूख गाउँपालिका अध्यक्ष, उपाध्यक्षहरुको अपमान हुने गरी कार्यक्रम आयोजना गरिएको र एम्बुलेन्समा पार्टीको नाम लेखिएकाले विवाद शुरु भएको बताईएको छ ।
काँग्रेस नेता बिष्टको प्रमूख आतिथ्यतामा एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा आफूहरुलाई अपमान हुने गरी आमन्त्रण गरिएको र एम्बुलेन्समा पार्टीको नाम उल्लेख गरिएकोमा अब गाउँपालिकाले आफ्नै लगानीमा एम्बुलेन्स खरिद गर्ने जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनु भयो ।
एम्बुलेन्समा ‘नेपाली काँग्रेसका केन्द्रिय सदस्य श्री आनन्द बिष्ट ज्यूको पहलमा आमा फाउण्डेशन नेपालमार्फत (गौरीराज जोशी) द्वारा जोरायल गाउँपालिकालाई प्रदान गरिएको’ लेखिएको छ । आमा फाउण्डेशन नेपालमार्फत खरिद गरिएको उक्त एम्बुलेन्स खरिद प्रक्रियामा जाँदा भन्सार छुटका लागि स्वयं जोरायल गाउँपालिकाले पत्राचार गरी जम्मा ११ लाखमा उक्त एम्बुलेन्स खरिद गरिएको जनाईएको छ । भन्सार सहित खरिद गर्दा उक्त एम्बुलेन्सको करिब २७÷२८ लाख मूल्य पर्दछ ।
दुरदराजमा सेवा दिने उदेश्यले स्वयं गाउँपालिकाले पनि पहल गरेको उक्त एम्बुन्लेन्समा पूर्ण रुपले राजनीतिकरण भएपछि समस्या आएको अध्यक्ष ओझाको दाबी छ । एम्बुलेन्स हस्तान्तरण गर्दा प्राथमिक स्वास्थ्य केन्द्रका व्यवस्थापन समिति अध्यक्ष समेत रहेका जोरायल गाउँपालिका वडा नं. ३ सरस्वतीनगरका नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष दिनेश मल्लको अध्यक्षतामा प्रमूख अतिथी आनन्द बिष्टले जोरायल गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत समिर भण्डारीलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नु भएको थियो ।
उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्षहरु सहभागि थिएनन् । नेपाली काँग्रेसले आन्तरिक छलफल अनुसार एम्बुलेन्स भित्रयाएको र कार्यक्रम आयोजना गरिएको सो गाउँपालिका वडा नं. ३ का अध्यक्ष मल्लले जानकारी दिनु भयो ।
यस विवाद बारेमा गाउँपालिकामा औपचारिक छलफल गरी समाधान खोजिने पनि उहाँले बताउनु भयो । एम्बुलेन्सका आवश्यक कागजातहरु आई नसकेको, गाउँपालिकामा स्टोर दाखिला भई नसकेको र दर रेट निर्धारण भई नसकेकाले एम्बुलेन्स सञ्चालनमा ल्याउन समस्या भएको जोरायल गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत भण्डारीले बताउनु भयो । एम्बुलेन्स अहिले प्राथमिक स्वास्थ्य केन्द्र जोरायलको जिम्मामा छ ।











प्रतिक्रिया