सडकले ल्याएको खुसी

0
Shares

सलिम अन्सारी, प्युठान ।
‘यस्तो भिरपाखामा मोटर आउला भन्ने सोँचेका थिएनौँ,’ ऐरावतीपालिका–३ कोलवाङका धन बहादुर थापाले भने, ‘विकास देख्न पाइयो ।’ विकासबाट वञ्चित कोलबाङ गाउँ सडकसँग जोडिएपछि गाउँभरि खुसी छाएको छ । शुक्रवार अतिथी बोकेर गाउँ पुगेका जिप चालकलाई गाउँलेले सोरठी नाचेर स्वागत गरे ।

गाउँमा मोटर आएको अवसर छोपेर स्थानीयवासीले ‘खुसीयाली कार्यक्रम’ को आयोजना गरेका थिए । मोटर चढेर गाउँ पुगेका अतिथिलगायत सवारी चालकलाई गाउँलेले फूलमालाले सम्मान गरे । दिनभरजसो मौलिक सोरठि नाचमा नाचगान गरेर स्थानीयवासीले ‘उत्सव’ नै मनाए ।

एक सय ५० घरधुरी रहेको कोलबाङमा हालैमात्र सडक पुगेको थियो ।
‘ गाउमा सडक कहिले आउला र भन्ने लाग्थ्यो,’ स्थानीयवासी थापाले भने, ‘अहिले त कोलवाङ गाउँको मुहार फेरियो, विकासको मेरुदण्ड सडक आयो ।’सडकलाई उत्पादन र आर्थिक गतिविधिसँग जोड्नुपर्ने धन बहादुर थापाले बताए ।सड्क पुगेपछि यस क्षेत्रका खस्रे, गौडे, थाडदमार, ओखारी, सालबास लगाएतका स्थानियलाई यातायातमा सहज भएको वडा अध्यक्ष भुप बहादुर आलेले बताए । उनले भने,–‘ सड्क नपुग्दा यस क्षेत्रका स्थानियलाई हिड्नुपर्ने बाध्यता थियो ।

मटिखन्नी–साजबास–कोलबाङ– ओखारी सड्क उपभोक्ता समितिका अध्यक्ष सिमा गाहाले स्थानियलाई सड्क नहुँदा जाबुनेबाट पैदल हिड्नुपर्ने बाध्यता भएको बताईन् । स्थानियलाई २ देखि ४ घण्टा हिड्नुपर्ने बाध्यता थियो । उनले भनिन,–‘सड्कले स्थानियमा खुसीयाली छाएको छ ।’ गाउँवासीको विकासको सपना पूरा भएको उनले प्रतिक्रिया दिइन् ।उनले सडकसँगै अन्य विकासका पूर्वाधार निर्माणमा गाउँले एकजुट हुनुपर्ने बताइन् ।

 

कोलवाङमा पौने एक करोडको लागतमा सड्क खनिएको हो। गरिबि निवारण कोषको २७ लाख, ऐरावती गाउँपालिकाको २४ लाखँ र स्थानिय जनश्रमदान ६ लाख २५ हजार रुपियाँ लागतमा ६ किलोमिटर सड्क खनिएको वडाअध्यक्ष आलेले बताए । सड्कको उद्घाटन गाउँपालिकाका अध्यक्ष नबील विक्रम शाहले गरेका थिए । सोही अबसरमा बोल्दै उनले गाउँपालिकाले स्थानियको समस्या समाधानका लागि सड्क निमार्ण गरेको बताए ।

उनले यस सड्कलाई सरुमारानी गाउँपालिका संग समन्वय गरि दर्भान सम्म जोड्ने योजना रहेको समेत सुनाए ।स्वर्गद्धारी यातायात व्यवसायी समितिका महासचिव चन्द्रमान श्रेष्ठले कोलवाङ–विजुवार नियमित जिप संचालन गर्ने प्रतिवद्धता व्यक्त गरे । उपाध्यक्ष बुद्ध बस्नेतले स्थानिय समुदायको जीवनशैली फेर्नलाई गाउं सरकार जनताकै साथमा रहेको जनाए ।

उक्त सडकले दक्षिणी ऐरावतीका अधिकांश गाउँलाई समेटेको छ ।कृषि उत्पादनलाई बजारसम्म ल्याउन र अन्य आर्थिक गतिविधिका लागि कृषि सडक महत्वपूर्ण मानिएको छ ।