प्रदेश ३ मा पहिलोपटक शुरु भयो खेती प्रणाली

0
Shares

सिन्धुली ।
प्रदेश नम्बर ३ सरकारको भूमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले चक्लाबन्दी सामुहिक खेती प्रणालिको शुरु गरेको छ । आज (शनिवार) सिन्धुलीको दुधौली नगरपालिका,२ भलुवाहीमा एक कार्यक्रमका वीच प्रदेश नम्बर ३ का भूमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले डोजर चलाएर सामुहिक खेती प्रणालिको उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा बोल्दै मन्त्री लामाले कृषिमा आधुनिकिकरण बढेपछि सुतेर नबस्न किसानहरुलाई आग्रह गर्नुभयो । उहाँले नेपालकै माटोमा पैसा, श्रम र पसिना खर्च गर्ने बेला आएको भन्दै संमृद्ध नेपालको कल्पना कृषिबाट मात्रै सम्भव भएको बताउनुभयो । श्रमको मुल्य निर्धारण र शेयरको समेत ब्यवस्था गरिने भएकाले सामुहिक खेती प्रणाली प्रभावकारी बन्ने उहाँको भनाई छ । सामुहिक खेती गरिने क्षेत्रको माटो समेत परिक्षण भैसकेकाले कृषि सडक, यन्त्रिकिकरण र विद्युत सिंचाई लगाएतका क्षेत्रमा प्रदेश सरकारले सहयोग गर्ने मन्त्री लामाले प्रतिबद्धता जनाउनुभयो ।

सामुहिक खेतीबाट उत्पादन भएको धान,मकै,गहुँ,तोरी लगाएतका खाद्यान्नको बजारिकरणको ब्यवस्था प्रदेश सरकारले गर्ने उहाँको भनाई छ । कृषियोग्य भूमिको खण्डिकरण रोक्न र कृषि उत्पादनको बृद्धि गर्न किसानलाई प्रोत्साहन गर्न विभिन्न योजना ल्याउने मन्त्री लामाले जानकारी दिनुभयो ।

सहकारीमा आधारित सामुहिक चक्लाबन्दी खेती पहिलो चरणमा एक सय विगाहा क्षेत्रफलमा शुरु गरिएको हो । जसमा नगरपालिका भित्रका करिब डेढसय किसान सहभागी हुनेछन् । दुधौली नगरपालिकाको आयोजना र नमुना कृषि सहकारी संस्थाको ब्यवस्थापनमा भएको कार्यक्रममा बोल्दै प्रदेश सांसद लेखनाथ दाहाल,प्रदिप कटुवाल,जिल्ला समन्वय समितिका अध्यक्ष शंकर वर्मा तिवारी लगाएतले सामुहिक खेती प्रणालीमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । प्रदेशमा सामुहिक खेती प्रणालिलाई जोड दिँदै आउनुभएका कृषि मन्त्री लामाले झापा समेत पुगेर चक्लाबन्दी खेती निरिक्षण गर्नुभएको थियो ।

पछिल्लो समय किसानहरु एकीकृत खेतीतर्फ आकर्षित भएका छन । परिवारमा खेती गर्नेको संख्या घट्दै गएपछि किसान एकीकृत खेतीतर्फ लागेको कृषि मन्त्रालयले जनाएको छ । सरकारको नीति तथा कार्यक्रममा पनि ५ बर्षभित्र कृषिमा नेपालको ठूलो हिस्सा परिचालन गर्ने र कृषिलाई आधुनिकिकरण र वैज्ञानिकीकरण गर्दै सामुहिक खेती प्रणालीको विकास गर्ने विषय समेटिएको छ ।