भद्रपुर ।
तत्कालिन अवस्थामा सरकार र बिद्रोहीको तर्फबाट मारिएका तथा बेपत्ता भएकाहरुको पहिचान झल्काउने गरी करोडौँ लागतमा स्मृति पार्क निर्माण हुने भएको छ । झापाको हल्दीबारी गाउँपालिकाले वडा नम्बर–२ स्थित भेलागढी समुदायिक वन क्षेत्रभित्र ८ करोड ३९ लाख ३१ हजार ४ सय ५६ रुपैयाँ २३ पैसाको लागतमा लोकतान्त्रिक शहीद स्मृति पार्क निर्माण हुने भएको हो । बिभिन्न आन्दोलनको क्रममा हल्दीबारी गाउँपालिकाभित्र ज्यान गुमाउनेहरुको सम्झनामा मूर्तिहरु सहित पार्क निर्माण हुन लागेको गाउँपालिकाले जनाएको छ ।
हर्चना र देउनिया खोलाको संगमस्थलमा रहेको भेलागढी जङ्गल ९१ दशमलव ५६ हेक्टरमा फैलिएको क्षेत्रमध्ये १९ दशमलव ७ हेक्टरमा सिमसार क्षेत्र रहेकाले यसलाई नै पर्यटकीय रुपमा बिकास गर्नका लागि पार्क वनाउन लागिएको उपाध्यक्ष डम्बरबहादुर गिरीले जनाए ।
भेलागढी जङ्गलभित्र बनाइने पार्कलाई दोस्रो गाउँसभाको निर्णय अनुसार गाउँपालिकाको गौरवको आयोजनाको रुपमा स्वीकृत गरेको उपाध्यक्ष गिरीको भनाइ छ । तत्कालीन अवस्थामा सरकार र बिद्रोहीको तर्फबाट मारिएका तथा बेपत्ता भएकाहरुको पहिचान झल्काउने खालको स्मृति पार्क निर्माण हुने उनले बताए । १ नं. प्रदेश सरकारबाट लोकतान्त्रिक शहीद स्मृतिपार्क निर्माणका लागि चालूआर्थिक वर्षमा सशर्त पूँजीगत अनुदानवापत १ करोड ३० लाख विनियोजन गरेको उनले बताए । विस्तृत परियोजना विवरण तयारका लागि गाउँपालिकाले १० लाख बिनियोजन गरेको उनले जानकारी दिए । बहुबर्षीय योजनाको रुपमा यसलाई अघि सारेर निर्माणको काम तत्कालै शुरु गरिने समेत उनले बताए ।
हल्दीबारी गाउँपालिकाको पहिचानको रुपमा रहेको चारकोशे झाडी र सामुदायिक वनहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न फेरि पनि घुम्न जाउँ, हल्दीबारी गाउँ भन्ने नारा तय भएकाले त्यसै अनुसार भेलागढीमा लोकतान्त्रिक शहीद स्मृति पार्क बनाउन लागिएको गाउँपालिका अध्यक्ष रवीन्द्र कुमार लिङ्देनले बताए ।
चालू आर्थिक बर्षका लागि स्वीकृत स्थानीय दररेट बमोजिम लागत अनुमान तयारी भै सकेको अध्यक्ष लिङ्देनको भनाइ छ । स्वामित्व विवाद आउन सक्ने भएकाले गाउँ कार्यपालिका बैठकले पार्क निर्माणसँग सम्बन्धित सामुदायिक वनलगायत अन्य सरोकारवालासँग आवश्यक समन्वय एवम् सहजीकरण गरी गाउँपालिकाको तर्फबाट आवश्यक निर्णय लिनका लागि अध्यक्ष लिङ्देनको संयोजकत्वमा समिति बनेको जनाइएको छ ।
भ्यू टावर, तालिम हल, रिङरोड, नृत्य गरिरहेजस्तो देखिने पानीको फोहोरा (वाटर डान्सिङ फाउन्टेन), टिम्बर ब्रिज, बालबालिकाका लागि चिल्ड्रेन पार्क, खेलमैदान, वनभोज स्थल लगायतका संरचनाहरु बन्ने उल्लेख गरिएको छ । वन भित्र रहेको सिमसार क्षेत्रमा पार्क बन्न लागेकोमा खुशी लागेको भेलागढी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नारायण प्रसाद लुइँटेलले बताए । गाउँपालिकाले बजेट पार्ने हो, वनले सुरक्षा गरी आम्दानीको स्रोत वापत नियमानुसार तिर्नु पर्ने भएमा गाउँपालिकालाइ कर वुझाइने अध्यक्ष लुइँटेलले जनाए ।











प्रतिक्रिया