भवन बनाउने पहिलो वडा बलेफी –४ को कार्यालय भवन उद्घाटन

0
Shares

नानीराम नेपाल, सिन्धुपाल्चोक ।
स्थानीय तह निर्वाचनको २१ महिनापछि बलेफी गाउँपालिकाको ४ नम्बर वडा कार्यालय आफ्नै सुविधासम्पन्न भवनमा सरेको छ । वडा कार्यालयको भवन निर्माण सम्पन्न भएपछि पूर्व मन्त्री एवम प्रतिनीधि सभाका सांसद अग्निप्रसाद सापकोटाले बुधवार नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन गरेका हुन् ।

वडा कार्यालयको भवन उद्घाटन भएसँगै बलेफी गाउँपालिकाको ४ नम्बर वडा जिल्लाकै पहिलो वडा बनेको छ । बलेफी गाउँपालिकाको ४ नम्बर वडा कार्यालय भवन निर्माण सम्पन्न गर्ने जिल्लाकै पहिलो वडा बनेको हो ।

स्थानीय तह निर्वाचन भएसँगै गाउँ गाउँमा सिंहदरवारका अधिकार आएको भन्दै पूर्वमन्त्री सापकोटाले जनतालाई सहज र सरल रुपमा सेवा दिनका लागि जनप्रतिनीधिहरुलाई आग्रह गरे । वडा कार्यालय भवनको उद्घाटन समारोहमा नेकपाका केन्द्रिय सदस्य माधव सापकोटा, बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षत्री, नेकपाका नेता प्रतापसिं तामाङ, गंगाबहादुर तामाङ, अमृता नेपाल, टपिन्द्र तिमल्सिना, गाउँपालिकाकी उपाध्यक्ष कमला कायस्थ, प्रमुख प्रशासकीय अधिकृत गणेश नेपाली लगायत वडाका अगुवाहरुको उपस्थिती थियो ।

गाउँपालिकाले भवन निर्माणका लागि ४२ लाख रुपियाँ रकम विनियोजन गरेपछि वडाको केन्द्र अदमारामा कार्यालयको भवन निर्माणको काम सुरु गरिएको वडाधयक्ष कालीप्रसाद तामाङले सुनाए ।‘आफ्नै कार्यालय भवन बन्यो, सेवाप्रवाहमा अब सजिलो हुनेछ’, उनले भने ।

६ आना जग्गामा ७ कोठे सुविधासम्पन्न भवन निर्माण भएपछि सामान्य कामका लागि स्थानीय जनतालाई बलेफी बजार झर्नुपर्ने बाध्यता हटेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश नेपालीले बताए । वडा कार्यालयको भवन नहुँदा ५ नम्बर वडास्थित बलेफी बजारमै अस्थायी रुपमा ४ नम्बर वडाको कार्यालय संचालन हुँदै आएको थियो ।