हेटौंडा ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान सरकारको काम गराइलाई अंकमा हेर्ने हो शून्य रिपोर्ट आउने बताउनुभएको छ ।
वीपी विचार समाज मकवानपुरद्वारा ४३ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आयोजित अन्तरसंवादमा कोइरालाले प्रधानमन्त्री केपी ओली तथा सरकारमा रहेका मन्त्रीको काम हालसम्म शून्य रहेको दाबी गर्नुभएको हो ।
सरकारलाई दुई तिहाइको दम्भ भएकै कारण जनताको आशा र भरोसा तोडेर राज्य संकटमा पार्न लागेको उहाँले आरोप लगाउनुभयो । देशमा मानवअधिकार, शान्तिसुरक्षा तथा बलात्कारका विषयमा सरकार पछि परेको कोइरालाको दाबी छ ।
निर्मला पन्तका हत्यारालाई सरकारले पत्ता लगाउन नसक्नु सरकारको ठूलो कमजोरी रहेको उहाँले आरोप लगाउनुभयो । प्रधानमन्त्री ओलीलाई जनताको सुखसुविधाका लागि भन्दा पनि मन्त्रीहरुको रिपोर्ट हेर्दै ठिक्क रहेको कोइरालाको भनाइ छ । ‘दुई तिहाइको घमण्ड गरेरै सरकार आफैं ढल्ने अबस्था आउनेछ,’ उहाँले भन्नुभयो ।
सरकारले ‘लोकतन्त्रमा विकास हँुदैन’ भन्नु हास्यास्पद भएको कोइरालाले बताउनुभयो । लोकतन्त्र र प्रजातन्त्रप्रति सरकार प्रतिवद्ध नभएको गुनासो गर्दै उहाँले राज्यको विकास लोकतन्त्रमा मात्र हुन्छ भन्ने कुरा प्रधानमन्त्री ओलीले बुझ्नुपर्ने सुझाउनुभयो ।
कोइरालाले पद जति बढे पनि कांग्रेसमा वीपीको विचार बोकेर अघि बढ्नुपर्ने बताउनुभयो । सबैमा वीपीको जस्तो सोच आएमात्र देश विकासमा टेवा पुग्ने उहाँको भनाइ थियो ।
नेपाली कांग्रेस ३ नम्बर प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले गालीगलौजले देशको विकास नहुने बताउँदै अभिभावकको विचारलाई आत्मसात् गरी अघि बढ्नुपर्ने बताउनुभयो । आफ्ना पुस्ता तथा अभिभावकलाई नमान्ने मान्छेले धेरै समय राज गर्न नपाउने बानियाँको दाबी छ । वीपीको विचारलाई अघि बढाउँदै लैजाने हो भने नेतृत्वले विकासको गति लिने उहाँले बताउनुभयो ।











प्रतिक्रिया