किरन धामी, दार्चुला ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगर कञ्चनपुरमा दार्चुलाका नौ वटा स्थानिय तहका २ सय ६५ थान उजुरी परेका छन् । २०७० असोज ३० गते स्थापना भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगर कञ्चनपुरमा जिल्लाका साविकका ४१ वटा गाविस तथा हालका नौ वटा स्थानिय तहका गरी २ सय ६५ थान उजुरी दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगर कञ्चनपुरका उपसचिव एवं सुचना अधिकारी राजन नेपालले जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगर कञ्चनपुरमा दर्ता भएका उजुरी मध्ये २ सय १७ थान उजुरी फर्छौट भएको तथा ४८ थान उजुरी फर्छौट हुन बाकी रहेको उनले जानकारी दिए । दार्चुला जिल्लाबाट आर्थिक वर्ष २०७०÷०७१ मा ४५ थान, ०७१÷०७२ मा ८१, ०७२÷०७३ मा ५२, ०७३÷०७४ मा ३२, ०७४÷०७५ मा २७, र चालु आर्थिक वर्ष २०७५÷०७६का मंसिर मसान्त सम्ममा २८ थान उजुरी दर्ता भएको उनले जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरमा स्थापना भए देखि सुदूरपश्चिमका विभिन्न जिल्लाहरुबाट अख्तियारमा उजुरी पर्न थालेको सुचना अधिकारी नेपालले बताए । उपभोक्ता समिति गठनमा आफ्नो मान्छे राख्ने गरेको पूर्वाधार निर्माणमा गुणस्तर कायम नभएको, निर्माण तथा खरिद कार्य गराउँदा प्रतिष्पर्धा नगराएको, स्थानीय दररेट निर्धारणमा चलखेल, सामान खरिदमा परिमाण, गुणस्तर र मुल्यमा अनियमितता गर्ने, खरिदर निर्माणमा झुठा कागजात पेस गरी बजेट हिनामिना गर्ने गरेको, किर्ते दस्तखत र नक्कली छाप प्रयोग गरी रकम दुरुपयोग गर्ने गरेको, परामर्शदाता छनौट गर्दा मापदण्ड पालना नगरेको, पेश्कि लिई लामो समय फर्छ्यौट नगरेको, कर्मचारी शिक्षक भर्ना छनौट र सार्वजनिक खरिदमा नातावाद, कृपावाद हावी भएको जस्ता प्रकृतिका उजुरीहरु दर्ता भएको उनले जानकारी दिए ।
यस्तै वनजंगल, जडिबुटी जस्ता प्राकृतिक स्रोत साधनको अनियन्त्रित दोहन गरेको, नदीजन्य पदार्थ जस्तै गिटी, बालुवा, ढुङ्गा खानीलगायतको स्काभेटर प्रयोग गरी अवैध चोरी निकाशी गरेको, सामाजिक सुरक्षा भत्ता वितरण र सुनौला हजार दिन कार्यक्रममा हिनामिना गरेको, र कानुन विपरीत कर्मचारी नियुक्ति र तलब भत्ता वितरण गरेको उजुरीहरु दर्ता भएको उनको भनाई छ ।











प्रतिक्रिया