धनवीर दाहाल, रुकुम ।
चिसोका कारण रुकुमका हिमाली क्षेत्रको जनजिवन प्रभाबित बनेको छ । प्रदेश नम्बर ५ को एकमात्र हिमाली जिल्ला रुकुम पूर्वमा चिसो बढेपछि जिल्लाका उच्च हिमाली बस्तीको जनजीवन प्रभावित बनेको हो ।
जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकाको रन्मामैकोट, हुकाम, तकसेरा, कोल, जाङ लगायतका क्षेत्रमा चिसो बढेपछि दैनिक कामकाजमा समस्या भएको छ । चिसोले तरकारी बारीमा लगाएको सिंचाई स्प्रिङ कलरको पानी समेत जम्न थालेको स्थानीय टोपबहादुर ओलीले बताउनुभयो । घाम नलाग्ने क्षेत्रको सडकमा तुषारो जमेपछि सवारी साधनलाई आवत जावतमा समेत समस्या हुने गरेको उहाँको भनाई छ । सडकको तुषारोमा चिप्लिएर गत शुक्रबार पुथा उत्तरगंगा –१२ गर्खानीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान समेत गएको छ ।
चिसोका कारण स्थानीय स्वास्थ्य संस्थाहरुमा रुघाखोकीका बिरामीहरुको संख्या समेत बढेको बताइएको छ । त्यस्तै भूमे गाउँपालिकाको महत, काँक्री, लुकुम र सिस्ने गाउँपालिकाको सिस्ने, प्वाङ र सदरमुकाम रुकुमकोटमा समेत चिसो बढ्दा जनजीवन प्रभावित भएको छ ।
७ हजार २ सय मीटर अग्लो पुथा हिमाल र ६ हजार मीटर अग्लो सिस्ने हिमालको काखमा अवस्थित भएकोले पनि चिसोको अत्यधिक मात्रामा बढेको हो । चिसो बढेपछि बिहानै घाँस दाउरा गर्ने स्थानीयलाई अप्ठेरो भएको सिस्ने गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष मानबहादुर बुढाले बताउनुभयो । चिसोबाट बच्न स्थानीयले यसअघि जंगलबाट ल्याएर राखेका दाउराबाट आगो बालेर ताप्ने गरेको उहाँले जानकारी दिनुभयो । हिमपात नहुँदै यति चिसो बढेको र हिमपात भएपछि चिसो बढ्ने चिन्तामा स्थानीय रहेका छन् ।











प्रतिक्रिया