डान्सिङ स्टारमा अदिति विजयी

0
Shares

नृत्यमार्फत सूचना, सन्देश र जनचेतना प्रवाह गर्ने भन्दै हरेक वर्ष आयोजना हुँदै आएको केएमसी डान्सिङ स्टार सिजन–५ राजधानीको केएमसी स्कुल शंखमूलमा सम्पन्न भएको छ।

प्रतियोगितामा सिनियरतर्फ कक्षा ९ की अदिती नापित प्रथम, कक्षा ७ का कोहिनुर खाम्चा द्वितीय भए। जुनियरतर्फ कक्षा ३ की प्रज्ञा वैजनाथ प्रथम, नान्सी खरेल द्वितीय, प्रविज्ञा श्रेष्ठ, आरसु सुनिल गैरे र आरुसी भण्डारी तृतीय भएका थिए।

कार्यक्रमको अडिसन राउन्डमा २ सय २६ जना विद्यार्थीको सहभागिता रहेको थियो भने फाइनल राउन्डका लागि जम्मा १३ प्रतिस्पर्धी छनोट भएका थिए। प्रतिस्पर्धी विद्यार्थीलाई कोरियोग्राफर चेत सुनुवार, विवेक मोक्तान, सीमा ढकाल र सरु पोखरेलले प्रशिक्षण दिएका थिए भने निर्णायकमा नायक गजित विस्ट नायिका अशिस्मा नकर्मी, डान्स कोरियोग्राफर दीपेन्द्र शाही ठकुरी र सुमन सागरजंग केसी रहेका थिए। विद्यार्थीहरूले मनोरञ्जनात्मक प्रस्तुतिका साथै निर्मला हत्याकाण्ड, सडक बालबालिकाका दुःखपीडा अनि विद्यार्थीमाथि हुने दुव्र्यवहारलाई नृत्यमार्फत प्रस्तुत गरेका थिए। हरेक नृत्यपछि दिइने प्रतिक्रियामा प्रमुख अतिथि हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले उपस्थित सम्पूर्ण दर्शकलाई पेट मिचीमिची हँसाएका थिए।

विजयी तथा सहभागी प्रतियोगीलाई प्रमुख अतिथि केदार घिमिरे र अतिथि दीपक आचार्य तथा स्कुलका निर्देशक डा। ध्रुव भट्टराईले प्रमाणपत्र तथा ट्रफी प्रदान गरेका थिए। कार्यक्रममा केएमसी डान्सिङ स्टार सिजन १ देखि ४ सम्म फाइनल प्रतिस्पर्धामा पुगेका विद्यार्थीको विशेष प्रस्तुति रहेको थियो भने डान्स कोरियोग्राफर हरि निरौला ‘कक्रोज’, सुवास संग्रौला, सन्तोष लामिछाने र प्रेम थापालाई सम्मान गरिएको थियो।