टिकटकमा हिट पिरिम

0
Shares

जमाना टिकटकको छ। स्टारदेखि उनीहरूको फ्यानसम्म टिकटकमा रमाउन थालेका छन्। फिल्म निर्माताहरूका लागि भने टिकटक प्रचारको अर्को रँम्रो माध्यम बन्न थालेको छ।

यसै क्रममा आगामी माघ ४ गते अल नेपाल रिलिज हुन लागेको फिल्म गरुड पुराणको गीत म त पिरिममाले टिकटकमा नयाँ रेकर्ड बनाएको छ। यो गीतको अहिलेसम्म ४५ हजारभन्दा बढी टिकटक भिडियो निर्माण भएको छ भने ३५ लाख पटक हेरिसकिएको छ। एक महिनाअघि रिलिज गरिएको गीतलाई युट्युबमा भने सोमबारसम्म १४ लाख ५३ हजारपटक मात्र हेरिएको छ।

‘भिडियो सोचेको भन्दै धेरै नै राम्रो बनेको छ। गीत टिकटकमा सफल भयो।’ –फिल्मका निर्देशक सुवास कोइराला भन्छन्। उनका अनुसार यो गीतको कभर भिडियो प्रतियोगिता राखिएकाले पनि टिकटकमा चर्चा पाएको हो। ‘फिल्मलाई रमाइलो बनाउने प्रयास गरेका छौं। त्यहीअनुरूप गीत पनि तयार गरेका हांै र यसले टिकटकमा खुबै चर्चा कमाएको छ।’ –निर्देशक कोइरालाले भने। गीतको भिडियोमा अभिनेता तथा निर्देशक निश्चल बस्नेत, कर्मा शाक्य र नवनायिका प्रियंका सिंह ठकुरीको नृत्य छ। गीतमा निश्चलको जोडीका रूपमा अञ्जली योञ्जन पनि छिन्। गीतमा कोसिस क्षत्रीको संगीत र दिनेश राउतको शब्द छ। गीत कोसिस र मनिषा पोखरेलले गाएका छन् भने कोरियोग्राफी रेनाशा वान्तवा राईले गरेकी छिन्।

आकाश बराल, विनोद खतिवडा र सुवास आफैले लेखेको फिल्ममा कथा कसम नेपालको छ। अजित प्रजापति र अशोक गौतमद्वारा निर्मित फिल्ममा सुसन प्रजापतिको छायांकन र उज्ज्वल ढकालको सम्पादन रहेको छ। पारिवारिक प्रेमकथामा आधारित गरुड पुराणमा हास्य रस पनि रहेको निर्देशक कोइरालाले बताए।