रहेनन् कादर खान

0
Shares

बलिउडका लोकप्रिय अभिनेता कादर खानको क्यानडास्थित एक अस्पतालमा उपचारका क्रममा ८१ वर्षको उमेरमा निधन भएको छ।
बीबीसीको अनलाइन सेवाले जनाएअनुसार उनको सोमबार राती निधन भएको हो र छोरा सरफराज खानले कादरको निधनको पुष्टि गरेका छन्। श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना गरिएका उनलाई चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गरिरहेको र सोमबार दिउँसोदेखि भने कोमामा राखिएको समाचारमा जनाइएको छ।

लामो समयदेखि प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी डिसअर्डरबाट पीडित कादरको मस्तिष्क यही रोगका कारण खराब भएको थियो। केही समय अघिदेखि अस्पताल भर्ना भएका उनको निधनको अफवाह सोमबार बिहानैदेखि फैलिएको थियो। उनको निधनको खबरप्रति उनका छोराले आपत्ती जनाउँदै निधनको खबर झुटो भएको जनाएका थिए। भारतदेखि नेपालसम्मका कादरका शुभचिन्तकले अस्पतालमा रहेका कादरको निधन भएको भन्दै श्रद्धाञ्जलि दिन थालेपछि उनका छोराले कादरको निधनको खबर केबल अफवाह भएको जनाएका थिए।

हिन्दी सिनेमामा गहिरो छाप छोड्न सफल कादरको जन्म अफगानिस्तानको काबुलमा भएको थियो। भारतको मुम्बईमा बसेर बलिउड फिल्ममा जमेका उनले ३ सयभन्दा बढी फिल्ममा अभिनय गरेका थिए। केही फिल्ममा खलनायकको रूपमा पनि देखिएका बहुप्रतिभाका धनी उनले केही फिल्मका कथा र पटकथा पनि लेखेका छन्। उनी ८० र ९० को दशकमा सबैभन्दा बढी चर्चित अभिनेताहरू गोविन्दा तथा अनिल कपुरका साथ देखिएका थिए।

सन् १९७३ मा फिल्म दागमा वकिलको भूमिका निर्वाह गरी फिल्मी करिअर शुरू गरेका उनले खुन, पसिना, नसिब कुर्बानी, धन दौलत, लुटमार, बुलन्दी, मेरी आवाज सुनो, सनम तेरी कसमजस्ता फिल्ममा अभिनय गरेका थिए। बलिउड फिल्ममा दिएको योगदानको कदर गर्दै उनलाई सन् २०१३ मा साहित्य शिरोमणि अवार्डबाट सम्मान गरिएको थियो। उनी केही समयदेखि आफ्ना छोराबुहारीका साथ क्यानडामा बसिरहेका थिए। उनको अन्तिम संस्कार पनि क्यानडामै हुने समाचारमा जनाइएको छ।