काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा रहेका विभिन्न प्राज्ञिक थलोले बुद्धिजीवीलाई एकीकृत गरी राष्ट्रियता सम्बद्र्धनका लागि कला, साहित्य, संस्कृति अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान९नाफा०का पदाधिकारीलाई सिंहदरबारस्थित कार्यालयमा आज शपथ गराउँदै प्रतिष्ठानका प्रमुख संरक्षक ओलीले यस्ता संस्थाले समाजको आवश्यकतानुसार प्राज्ञिक जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभयो ।
सम्बन्धित प्रतिष्ठानका पदाधिकारीलाई संस्था र समाजप्रति जिम्मेवार हुन निर्देशन दिँदै उहाँले मुलुकका इतिहास, परम्परा, साहित्य, संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । पूर्वजले निर्माण गरेका प्राचीन कलाको गौरवपूर्ण परम्परा रहेको बताउँदै उहाँले भन्नुभयो, “यसले विश्व परिवेशमा हाम्रो कलालाई समृद्ध बनाएको छ, म विभिन्न मुलुकमा भ्रमण गर्दा नेपाली कला शैलीको प्रयोग भएको पाएको छु ।”
सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री तथा प्रतिष्ठानका संरक्षक रवीन्द्रप्रसाद अधिकारीले प्रतिष्ठान गठनमा सरकारको भूमिका हुने भए पनि यी स्वायत्त संस्था भएका कारण देशको कला साहित्यका साथै सांस्कृतिक पक्षको संरक्षणमा क्रियाशील रहन पदाधिकारीलाई आग्रह गर्नुभयो ।
नेपाल सङ्गीत प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त कुलपति नारायणभक्त श्रेष्ठ ९रायन०, उपकुलपति हरिहर शर्मा, सदस्य सचिव श्यामप्रकाश तमोट तथा नाफाका कुलपति कान्छाकुमार(केके) कर्माचार्य, उपकुलपति गोपाल चित्रकार र सदस्यसचिव विपीनकुमार घिमिरेले प्रधानमन्त्रीसँग शपथ लिनुभएको थियो ।
रासस











प्रतिक्रिया