गुराँसमय सहकारीको दोस्रो साधारणसभा सम्पन्न

0
Shares

सिन्धुपाल्चोक ।
जुगल गाउँपालिकाको विकट गाउँ हगामस्थित गुराँसमय बचत तथा ऋण सहकारी संस्थाको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार एक कार्यक्रम गर्दै गुराँसमय बचत तथा ऋण सहकारीले दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

नेकपाका केन्द्रिय सदस्य एवम यूवा नेता माधव सापकोटाले सहकारीको साधारणसभा उद्घाटन गरेका हुन् । साधारण सभामा बोल्दै नेता सापकोटाले समृद्धिको जग बलियो बनाउनका लागि राज्यले सहकारीहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए । विकट भूगोलमा पनि सहकारी संस्था स्थापना र विकास भइरहेको भन्दै उनले खुसी ब्यक्त गरे ।

सहकारीहरु बचत र ऋण कारोबारमा मात्र सिमित हुन नहुने भन्दै निम्नस्तरका जनताका जीवन बदल्नका लागि सहकारीहरुले ध्यान दिनुपर्ने बताए । ’सहकारीकै माध्यमबाट समृद्धिको जग बलियो बनाउन सकिन्छ, सहकारीमा जनताले निर्धक्क लगानी गर्न सकुन‘, नेता सापकोटाले भने, ‘राज्यले सहकारीक्षेत्रलाई प्रोत्साहन गर्नुपर्दछ ।’

सहकारीका साधारणसभामा बोल्दै जुगल गाउँपालिका ६ का वडाध्यक्ष जंग लामाले आफुहरु सहकारीको विकासमा सदैव लागिपर्ने बताए । जुगल ७ का वडाध्यक्ष दिलकुमार लामाले सहकारीका माध्यमबाट स्थानीय जनताका जीवनस्तर उठाउन सकीने भन्दै स्थानीय सरकारले सहकारी क्षेत्रको विकासमा ध्यान दिँदैजाने बताए । स्थापनाको दुई वर्षकाबीच सहकारीमा यसभेगका ४ सय ४७ लाई आवद्ध गरिएको संस्थाका अध्यक्ष शुकलाल तामाङले बताए ।