सीताराम चौधरी, कपिलवस्तु ।
कपिलवस्तुको थुन्हिया बर्थिङ सेन्टरकी अनमी उषा केसीलाई कुटपिट गर्ने प्रतिवादी यतिबेला प्रहरी खोरमा छन् । कुटपिटपछि फरार शिवराज नगरपालिका ११, थुन्हिया घर भएका ३४ वर्षीय मोहफुज मुसलमान स्थानीयको सहयोगमा पक्राउ परे ।
कुटपिट गर्ने मुसलमानलाई स्थानीय र प्रहरीले खोजतलास गर्दा तत्काल फेला परेनन् । घटनाको अर्को दिन मात्र स्थानीयले फेला पार्न सफल भई प्रहरीलाई बुझाएका थिए । पक्राउ परेका मोहफुजलाई प्रहरीले शुरुमा ३ दिनको र पछि १५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक ज्ञानेन्द्र चौधरीले जानकारी दिनुभयो ।
कुटपिटमा संलग्न मोहफुजलाई सोधपुछ गर्दा कुटपिट गरेको स्वीकार गरेपनि कारणबारे कुनै प्रतिक्रिया जनाउँदैन, प्रहरी निरीक्षक चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो –नबोल्ने पनि कानुनी अधिकार छ, टर्चर दिएर सोध्न मिलेन ।
पीडित पक्षले ज्यान मार्ने उद्योग अन्तर्गत मुद्धा दर्ता गरेकाले सोही अनुसार प्रक्रिया अगाडि बढ्छ, उहाँले बताउनुभयो । तर मुसलमानले अहिलेसम्म कुटपिटको कारणबारे प्रतिक्रिया नदिंदा कारबाही होला त भन्ने सवालमा पीडित पक्ष सशंकित छन् ।
कुटपिट गर्ने मोहफुज मुसलमानलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने पीडित पक्षको माग छ । यता अनमी केसीमाथि भएको कुटपिटको विरोधमा शिवराज नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारी विरोधमा उत्रिएका छन् । उनीहरुले केसीलाई ज्यान मार्न खोज्ने मुसलमान कुनै पनि हालतमा छुट्न नहुने जोडदार माग गर्दै आएका छन् । यसका साथै चन्द्रौटा क्षेत्रका विभिन्न संघसंस्थाले समेत संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै पीडित केसीको सीघ्र स्वास्थ्य लाभको कामना गर्दै कुटपिट गर्ने व्यक्तिलाई कडा कारबाहीको माग गरेका छन् ।
घटना गत पुस ९ गते सोमबार मध्यरातको हो । रात्रिकालिन ड्युटीपछि सुत्ने तरखरमा रहेकी अनमी केसी सुत्ने कोठाको ढोका फोरेर भित्र प्रवेश गरी मुसलमानले निर्घात कुटपिट गरेका थिए । घटनाबाट केसीको बायाँ हात भाँचिएको छ । केसीको टाउकोमा लठ्ठी प्रहार गरी मार्न खोज्दा हातले छेकेर बायाँ हात भाँचिएको केसी बताउँछिन् ।
घटना भएको बेलुका बर्थिङ सेन्टरमा एकजनाको सुत्केरी गराएर घर पठाएपछि उनी क्वाटरमा सुत्ने तरखरमा थिइन् । विस्तरामा बसेर मोबाइल चलाउँदै थिइन् । राति करीब साढे १० बजेको समयमा मोहफुज मुसलमानले ढोका फोरेर केसीमाथि आक्रमण गरेका थिए ।
अनमी केसी भन्नुहुन्छः “म आफ्नै क्वाटरमा मोबाइल चलाएर बसेकी थिएँ । त्यहाँ एक जना महिला स्वीपर र कार्यालय सहयोगीसहित हामी ३ जना थियौं । स्वीपर दिदीले त्यो दिन मदिरा सेवन गरेकीले बिस्तारामा पुगेको एकै छिनमा निदाउनु भयो । बाहिरबाट ढोका ढक्ढकाएको आवाज आयो । एक दुई पटक ढोका ढक्ढक्याउँदा समेत मैले ढोका खोलिनँ । रात छिप्पिन लागेको थियो, मलाई डर लागेको थियो । बिरामी आउने ठाउँ भएकाले पनि ढोका खोल्ने कि नखोल्ने, दोधारमा परें । बाहिरको आवाज सुन्दा पनि बिरामी लिएरै आएजस्तै स्वर सुनिन्थ्यो ।”
आफूलाई असुरक्षित महसुस गर्दै वडाध्यक्ष रामेश्वर बर्मालाई फोन गरेको केसीले बताउनुभयो । तर बाहिरबाट ढोकामा लात्ती बजारेर ढोका नै फोरेर मुखमा मास्क लगाएको अग्लो मान्छे भित्र प्रवेश गरी हातपात गर्न खोजेको उहाँले बताउनुभयो । प्रतिकार गर्दा लठ्ठी निकालेर हान्न थालेको उहाँको भनाई छ ।
सुरक्षित हुन हारगुहार माग्दा तत्काल कोही आएनन् उहाँले भन्नुभयो । घटनाकै समयमा कार्यालय सहयोगी शौचालय पसेका थिए । बाहिरबाट त्यहाँ आएको मान्छेले चुकुल लगाइदियो । स्वीपर दिदी डरले भागेर लुकेकाले तत्काल कोही बचाउन आएनन् उनहाँले बताउनुभयो ।
वडाध्यक्ष रामेश्वर बर्मालाई फोन गर्दा मान्छे कोठामा प्रवेश गरेर आफूमाथि जाइलागेको उहाँले बताउनुभयो । केही समयपछि वडाध्यक्ष रामेश्वर बर्मासहितको टोली आइपुगेपछि कुटपिट गर्ने व्यक्ति भाग्यो उहाँले दुःखी हुँदै भन्नुभयो । वडाध्यक्षकै कारणले आफूलाई जीवनदान मिलेको अनमी केसी बताउनुहुन्छ । यदि वडाध्यक्ष अलि ढिला गरेको भए मेरो प्राण नै जाने थियो । धन्न उहाँ आउनु भयो उहाँले भन्नुभयो । आफू बच्नका लागि जबरजस्ती उसको मास्क झिक्न सफल भई मान्छेलाई चिन्न सकें उहाँले प्रतिक्रिया दिनुभयो ।
अनमी केसीका अनुसार गत पुस २ गते हेल्थपोस्टमा काम गरिरहेको अवस्थामा एक अपरिचित व्यक्ति आएर ढोकामा लात्तीले हानेको आवाज आएपछि आफूलाई असुरक्षित ठानी साथीलाई सुनाउनुभएको थियो । पछि हेल्थपोस्ट ईन्चार्ज राजेश कुँवरलाई सुनाउँदा इन्चार्ज कुँवरले ‘त्यो मान्छे ठीक छैन, त्यस्तासँग के बोल्ने’ भनेपछि आफू चुप लागेको उहाँले जनाउनुभयो । फेरि पुनः ४ गते त्यो मानिस आएर हेल्थपोस्टमा दिनभर बसेर घर गएको थियो । उसँग आफ्नो कुनै व्यक्तिगत रिस इबी नभएको उहाँको भनाई छ । आफूलाई एक्लो पाएर गलत नियतले आक्रमण गरेको हुनसक्ने उहाँ भन्नुहुन्छ । प्रतिरक्षाको क्रममा उसलाई चिनेपछि मार्न खोजेको हो कि ? केसी बताउनहुन्छ ।
अनमी केसीको घर शिवराज नगरपालिका वडा नं. ४ बनकट्टीमा पर्छ । उपचारपछि अहिले उहाँ आफ्नै घरमा आराम गर्दैहुनुहुन्छ । उहाँको बायाँ हात प्लास्टर गरिएको छ । शुरुमा हिँड्न समेत सकेको थिएन अहिले केही सुधार भएको छ, उहाँ बताउनहुन्छ । उसलाई कारबाही नहुने हो भने त्यहाँ गएर काम गर्न सहज नभएको केसीको भनाई छ ।
यता अनमी केसीका बुवा हेम केसीले छोरीलाई कुटपिट गर्ने व्यक्तिलाई कारबाही नभएसम्म छोरीले न्याय पाएको अनुभूति नहुने बताउनुहुन्छ । उहाँले कुटपिट गर्ने व्यक्ति कुनै पनि हालतमा छुट्न नदिन सबैले पहल गर्न अपिल गर्नुभयो । यदि त्यसले छुटकार पायो भने फेरि पनि यस्ता घटना दोहोरिन सक्ने भन्दै चेलीबेटीहरुको जीवधनको रक्षाको लागि कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताउनुभयो ।











प्रतिक्रिया