बलात्कार आरोपित प्रअ फरार

0
Shares

हेटौंडा ।
महिलालाई बलात्कार प्रयास गरी भीमफेदी गाउँपालिका स्वाँरामा रहेको आँपचौर प्राथमिक विद्यालयका प्रधानाध्यापक पुष्पराज अधिकारी फरार भएका छन् ।

पुस ३ गते फरार भएका उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइएको करिब दुई हप्ता बित्दासमेत आरोपित अधिकारी फरार रहेका हुन् ।

स्थानीय विद्यालयमा कार्यरत् कार्यालय सहयोगीको पत्नीलाई अभद्र ब्यवहार गर्दा स्थानीयले रंगेहात भेटेपछि रातभर बाँधेर राखिएका अधिकारी एकाएक विहान फरार भएका थिए । उनलाई बाँधिएको अबस्थामा कसले फरार बनाउन भूमिका खेलेको हो भन्ने विषयमा समेत प्रहरी अनविज्ञ छ ।

मकवानपुर प्रहरी प्रवक्ता डीएसपी यज्ञप्रसाद भट्टराईले अधिकारीको खोजी भइरहेको बताउनुभयो । एक प्रहरीले उनले बलात्कार नभएर अभद्र ब्यवहार गरेको भन्ने किटान गरेर उजुरी गरिएको बताए ।

घटनाका पीडितसँग बुझ्दा पीडित सम्पर्कमा आउन नचाहेको प्रहरी दाबी छ । प्रअले यस अघिसमेत महिलामाथि यस्ता क्रियाकलाप गर्ने गरेको र घटना गाउँमा नै मिलाउने गरेको केही स्थानीयको भनाइ छ । उक्त घटना पनि गाउँमै मिलाउने प्रयत्न भएको स्थानीयले बताए । बलात्कार भन्दा घटनाले अर्कै मोड लिने हुँदा अभद्र ब्यवहार भनिएको दाबी उनीहरुले गरेका छन् ।