बुद्धि साइक्लिङमा च्याम्पियन


बाँके, (नेस)
नुवाकोटका बुद्धिबहादुर तामाङले दोस्रो मेयर कप नेपालगञ्ज साइकल दौड प्रतियोगिताको उपाधि जितेका छन् । नेपाल च्याम्पियन तामाङले शनिबार विहान नेपालगञ्जमा ५५ किलोमिटर एक घण्टा ५७ मिनेटमा पूरा गर्दै पहिलो भएका हुन् ।

२४ वर्षका नुवाकोटका साइक्लिस्टले विगत आठ वर्षदेखि निरन्तर साइकल चलाइरहेका छन् । हिक्मत विक २ मिनेटले पछि पर्दै दोस्रो भए भने जाजरकोटका टेकबहादुर बस्नेत तेस्रो स्थानमा रहेका थिए । शीर्ष तीनले क्रमशः ३५ हजार, ३० हजार र २५ हजार रुपियाँ पर्ने साइकल पुरस्कार प्राप्त गरे ।