प्रदेश ३ को खेलकुदलाई ६० करोड


रोशन पराजुली, हेटौंडा
खेलकुद विकासका लागि ३ नम्बर प्रदेश सरकारले चालु आर्थिक वर्षमा ठूलो रकम बिनियोजन गरेको छ । सरकारले चालु आर्थिक वर्ष २०७५÷०७६ मा ६० करोड ६५ लाख रुपियाँ खर्च गर्ने जानकारी गरायो । तर चार महिना बितिसक्दा पनि काम अगाडि बढाउन सकेको छैन । प्रदेश सरकारले खेलकुद मैदान निर्माणदेखि प्रदेशस्तरीय खेलकुद प्रतियोगिता गर्नेसम्मका १० वटा योजना चालु आवमा तयार पारेको छ । प्रदेश सरकारको योजनामा २० लाख रुपियाँदेखि २० करोड रुपियाँसम्मका बजेट योजना छन् ।

प्रदेश सरकारले भक्तपुरको मध्यपुर थिमि, इन्द्रायणीमा बास्केटबल कोर्ट निर्माण गर्न २० लाख रुपियाँ बजेट बिनियोजन गरेको छ । उच्च क्षेत्रमा खेल्न सकिने खेलहरुको प्रशिक्षण प्रदान गर्न हाईअल्टिच्युड स्पोर्टस् ट्रेनिङ सेन्टर निर्माण तथा सञ्चालनका लागि २५ लाख रुपियाँ बजेट निर्धारण गरिएको छ ।
प्रदेश सरकारले प्रदेशस्तरको बहुउद्धेश्यीय कभर्ड हल निर्माण गर्न २ करोड छुट्याएको छ । यसको लागि सार्वजनिक निर्माण कार्यान्वयन एकाईं गठन गरिएको छ । उक्त एकाईले स्थान अध्ययन अवलोकन गरी प्रतिवेदन पेश गरेपछि कभर्ड हल निर्माण सुरु हुने ३ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत् युवा तथा खेलकुद महाशाखा उपसचिव युवराज बगालेले जानकारी दिनुभयो ।

खेलकुद विकास कार्यक्रमअन्तर्गत् १२ जिल्लाका १३ स्थानमा कभर्ड हल निर्माण गर्न प्रदेश सरकारले १० करोड छुट्याएको छ । प्रदेश सरकारले कभर्ड हल निर्माणका लागि केही स्थान तय गरेको छ । जसअनुसार मकवानपुरको मनहरी, चितवनको भरतपुर, सिन्धुपाल्चोकको बलेफी, दैलेखको बैत्यश्वर, रामेछापको मन्थली, काभ्रेको नमोबुद्ध, काठमाडौंको कागेश्वरी मनहरा, सिन्धुलीको सुनकोशी, नुवाकोटको लिखु, धादिङको निलकण्ठ, रसुवाको कालिकास्थान तथा ललितपुरको ठेचो र नखिकोट रहेका छन् ।

हेटौंडा– ६ स्थित गौरीटार रंगशालामा खेलकुद प्रशिक्षण प्रतिष्ठान निर्माणका लागि प्रदेश सरकारले ५ करोड बजेट बिनियोजन गरेको छ । प्रदेश सरकारले प्रदेशका ७ जिल्लाका २२ स्थानमा खेलकुद मैदान निर्माण गर्ने भएको छ । खेलकुद मैदान निर्माणका लागि ६ करोड ६० लाख बजेट निर्धारण गरिएको छ । जसअन्तर्गत् काभ्रेको पाँचखाल, बेथानचोक, बनेपा र चौरीदेउराली, चितवनको इच्छाकामना, भरतपुर महानगरपालिका वडा नम्बर ७ र २७, धादिङको निलकण्ठ, रसुवाको नौकुण्ड र आमाछोदिन्बो, सिन्धुपाल्चोकको सुनकोसी–६ र ७, इन्द्रावती, चौसागढी– १३ र १४, बलेफी, मेलम्ची, बाह्रबीसे र लिसङ्खुपाखा, रामेछापको खाडदेवी गाल्पा र मन्थली सानीपाखा तथा नुवाकोटको त्रिपुरासुन्दरीलाई छनोट गरिएको छ ।

प्रदेश सरकारले विद्यालयदेखि खेलाडीलाई सक्षम बनाउन विद्यालयस्तरीय खेलकुद कार्यक्रम, खेल सामग्री व्यबस्थापन र शिक्षकका लागि प्रोत्साहन अनुदान गरी १३ करोड ६० लाख बजेट निर्धारण गरेको छ । मकवानपुरको बागमती, दोलखाको जिरी, धादिङको त्रिपुरासुन्दरी, नुवाकोटको शिवपुरी, सिन्धुपाल्चोकको चौसागढी, सिन्धुलीको दुधौली र कमलामाई, ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ र १० लगायत स्थानमा जिल्लास्तरीय रंगशाला निर्माणका लागि प्रदेश सरकार तातेको छ । यसका लागि सरकारले २० करोड छुट्याएको छ ।