दोलखामा नेकपाका नेताहरुको सपथ ग्रहण

0
Shares

चिरञ्जीवी मास्के, दोलखा ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य एवं प्रदेश तीनका नेताहरुले सरकारले दीर्घकालिन प्रभावपार्ने सकारात्मक काम गरेकोले त्यसको प्रचार र बचाउको लागि पार्टी नेता तथा कार्यकर्ताहरु लाग्नु पर्ने बताएका छन् ।

शनिवार नेपाल कम्युनिष्ट पार्टी नेकपा दोलखाको दुई नगरपालिका र सात गाँउपालिकाका पदाधिकारी तथा सदस्यहरुको सपथग्रहण कार्यक्रममा सहभागि केन्द्रीय तथा प्रदेश कमिटीका नेताहरुले सरकारको विरुद्ध अहिले चौतर्फी आक्रमण भै रहेकोले त्यसको विरुद्ध पार्टीका नेता तथा कार्यकर्ताहरु सक्रियता पूर्वक लाग्नु पर्ने बताएका हुन् ।

कार्यक्रममा सहभागि प्रदेश तीनका अध्यक्ष नारायणप्रसाद दहाल, प्रदेश सचिव आनन्दप्रसाद पोखरेल, केन्द्रीय सदस्यहरु पशुपति चौलागाई, पार्वत गुरुङ, गंगा कार्की, देवी खड्का, इश्वरी रिजालले सरकारको विरुद्ध पार्टी नेताहरुलेनै सार्वजनिक रुपमा आलोचना गर्ने क्रम बढेकोले विपक्षिहरुलाई सहयोग पुगेको बताए । उनीहरुले सरकारको राम्रो कामको प्रचार र बचाउ गर्नु पर्ने तथा सकारात्मक आलोचना एवं सरकारको हरेक काममा सहयोग गर्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।

शपथग्रहण कार्यक्रममा सहभागि नगर तथा गाँउपालिका कमिटीका नेता कार्यकर्ताहरुलाई केन्द्रीय नेताहरुले प्रशिक्षण दिदै पार्टी कमिटीलाई वडा स्तरसम्म विस्तार गर्नु पर्ने र स्थानिय तहको काममा सहयोग गर्नु पर्ने बताएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा दोलखाका नेता इश्वरचन्द्र पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा भीमेश्वर र जिरी दुई नगरपालिका तथा विगु, गौरीशङ्कर, कालिञ्चोक, वैतेश्वर, मेलुङ, तामाकोसी र शैलुङ गरी सात गाँउपालिकाका पार्टी कमिटी अध्यक्ष, सचिव तथा सदस्य गरी ६ सय ८७ जनालाई संयुक्त रुपमा सपथग्रहण गराईएको थियो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा दोलखाका प्रस्तावित जिल्ला कमिटी अध्यक्ष भीम दहाल, प्रस्तावित जिल्ला कमिटी सचिव कुलबहादुर बुढाथोकी र प्रदेश कमिटी सदस्य गोपाल पाण्डेले मन्तव्य व्यक्त गरेका थिए ।